एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा मेटमणि चौधरी

by समतल अनलाइन

बुटवल । नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । चौधरीको नेतृत्वमा शुक्रबार लुम्बिनी प्रदेश कमिटी निर्माण भएको हो ।

प्रदेश कमिटीको प्रथम बैठकले केन्द्रीय सचिवालयको निर्देशन अनुसार चौधरीलाई अध्यक्षका रुपमा सिफारिस गरेको हो । प्रदेश अध्यक्षमा सारिएका चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद पनि रहेका छन् । उनी एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक थिए ।

कमिटीको सचिवमा राजु गुरुङलाई अघि सारिएको छ । प्रदेशका सबै जिल्ला अध्यक्षहरुलाई सदस्य राखेर कमिटी बनाइएको सचिव गुरुङले बताएका छन् । यो कमिटीलाई आगामी असोज ५ गते बस्ने केन्द्रीय कमिटी बैठक र प्रदेश भेलापछि पूर्णता दिने तयारी छ । त्यस्तै शुक्रबारकै भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लामा भेला र बैठक गर्ने निर्णय पनि लिएको छ । लुम्बिनीमा यसअघि नै नेकपा एकीकृत समाजवादीको इञ्चार्जका रुपमा भागवत विश्वासीले काम थालिसकेका छन् ।

 

 
 
  
 

You may also like