समानान्तर गतिविधि नरोके कारवाही गर्ने रविन्द्र मिश्र पक्षको निर्णय

by समतल अनलाइन

काठमाडौं। विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको छ । बिहीबार बसेको भर्चुअल बैठकमा १३० जना कूल केन्द्रीय सदस्यमध्ये १०३ जनाको सहभागिता थियो ।

बैठकले अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको छ । त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराउँदै, आइन्दा त्यसो गरेको खण्डमा पार्टीले कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

पाण्डे पक्षका नेताहरु पनि दुवैतिर सहभागी भएका हुन् । पाण्डेको पक्षको बैठकमा ४१ जना सदस्य सहभागी थिए । पाण्डे पक्षको बैठकले न्याय तथा सुशासन आयोग गठनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । साथै, पार्टी विभाजन गराउन चाहने पक्षलाई निरुत्साहित गर्दै एकीकरणको घोषणा पत्र, निर्वाचन प्रतिबद्धता पत्र लगायत पालना गराउने पक्षमा पार्टी पंक्तिलाई अपील गर्ने पनि निर्णय गरेको छ ।

मिश्र पक्षले निर्णय गर्नुअगावै पाण्डे पक्षको बैठक सकिएको थियो । मिश्र पक्षको निर्णयपछि पाण्डेले शुक्रबार बिहान ११ बजेका लागि अर्को बैठक डाकेका छन् । अध्यक्ष मिश्रले संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि पार्टीमा वैचारित मतभेद छ । त्यहीबीच अहिले अध्यक्ष मिश्र र संयोजक पाण्डे पक्षबीच समानान्तर गतिविधि सञ्चालन भइरहेको छ ।

 
 
  
 

You may also like