बुटवलमा दुई हप्तादेखि उठेन फोहोर

by समतल अनलाइन

बुटवल । बुटवलमा २ हप्ता देखि बुटवल उपमहानगरले फोहोर उठाउने ट्याक्टर नगरमा नपठाउदा अहिले बुटवलको मुख्य सडक महेन्द्र राजमार्गमा छरपष्ट फोहोरका थुप्राले बजारलाई दुर्गन्धित बनाएको छ ।

उपमहानगरले पछिल्लो समय फोहोर उठाउन छोडेपछि बजार तथा गल्लि र घरहरुमा राखेको फोहोर स्वास्थ्यका लागि हानिकारक बन्दै गएको स्थानीयहरुको भनाई छ ।

उपमहानगरपालिकामा दैनिक ५३ टन भन्दा बढी फोहोर उत्पादन हुने र सो फोहोरलाई स्थायी रुपमा फाल्ने उचित व्यवस्थापन नहुँदा अस्थायी रुपमा फाल्दै आईएको बुटवलको हात्ती सुडका स्थानीयहरु दुर्गन्ध मात्रै नभई फोहोर बाट उत्पन्न ग्याँसका कारण आगलागी हुने समस्या बाट पनि पिडित हुँदै आएको स्थानीयहरू बताउंछन् ।

पछिल्लो समय पानी धेरै परेको र फोहोरले गर्दा हात्ती सुडमा धेरै दुर्गन्ध फैलिएकाले अहिले त्यस क्षेत्रका स्थानियहरुले फोहोर फाल्न रोक लगाए पछि बुटवल उपमहानगरमा झन्डै एक साता देखि फोहोर उठ्न सकेको छैन् ।

लामो समय फोहोर उठ्न नसकेपछि ब्यापारी, स्थानीय, पैदल यात्री र सवारीमा समेत हिड्डुल गर्नेहरु प्रभावित बन्न पुगेका छन् । स्थानीय तहको निर्वाचनका वेला स्थायी एंव उचित डम्पिङ साईडको निर्माण गरिने भनेर घोषणा पत्रमा प्रतिबद्धता समेत जनाईए पनि तर, हाल सम्म उक्त प्रतिबद्धता पुरा हुन् नसक्दा स्थानीयहरु बाध्य भएर अव्यवस्थित फोहोर फाल्ने कार्यलाई रोक लगाएको नाम नबताउने सर्तमा हात्ती सुडका एक व्यक्तिले भने ।

बुटवल उपमहानगरले नगरलाई डिजिटल र नमूना शहरको रुपमा विकास गर्ने लक्ष्य अगाडी सारेपनि तर उपमहानगरले फोहोर व्यवस्थापन जस्ता कार्यलाई समाधान गर्न नसक्दा सो लक्ष्य प्राप्ति हुन कठिन हुने स्थानीयहरूको जिकिर छ ।

यस्तै, लामो समय नगरका प्रमुख एंव अन्य सडक र गल्लीहरुमा फोहोरको थुप्रो जम्मा भएको वारे बुटवल उपमहानगरकालाई सम्पर्क गर्दा,फोहोर व्यवस्थापनका लागि गृहकार्य भैरहेको र समस्या समाधानका लागि विकल्प बारे छलफल भैरहेको जनाएको छ ।

बुटवल उप महानगरपालिका वडा ११ स्थित हात्तीसुडका स्थानीयहरुले अव्यवस्थित डम्पिङ साईडमा फोहोरको अत्यधिक मात्रामा दुर्गन्ध र बस्न नसक्ने समेत हुँदा पनि दीर्घकालीन व्यवस्थापन बारे उप महानगरले चासो नदिएको भन्दै, फोहोर फाल्न विरोध जनाए पछि अहिले फोहोर घर र गल्लीमा सिमित हुन पुगेको छ ।

अव्यवस्थित डम्पिङ साईडमा फोहोरलाई माटोले पुर्ने र दुर्गन्ध आउन नदिने गरेपनि, सो स्थानमा फोहोर फाल्नका लागि स्थानीय र उपमहानगर बीच गरिएको सम्झौता कार्यान्वयन नभएको स्थानीयहरुले बताएका छन् ।

 
 
  
 

You may also like