ओरोलो लाग्यो शेयर बजार : ५० अंकले घट्यो नेप्से, ९ अर्ब ५० करोडको कारोबार

by समतल अनलाइन

काठमाडौं। कारोबारको अघिल्लो दिन अर्थात् बुधबार १.१८ अंकले बढेको नेप्से बिहीबार फेरि ओरालो लागेको छ । ५०.१३ अंकले घटेर २९२६.८९ विन्दुमा झरेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने सामान्य वृद्धि भएको छ । यस दिन २३० कम्पनीको ९ अर्ब ५० करोड बराबरको शेयर खरिदबिक्री भयो । बिहीबार ९ अर्ब ३५ करोड बराबरको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यो १५ करोड कम हो ।

यस दिन ठूला कम्पनीको शेयर मापन सेन्सिटिभ परिसूचक १.६२ प्रतिशत अर्थात् ८.९ अंकले घटेर ५४१.७७ विन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक ओरालो लागेको छ । जीवन विमाको परिसूचक सर्वाधिक ३४२.०२ अंकले घटेको छ । यस्तै निर्जीव विमा २३३.८४, विकास बैंक १८६.१३, जलविध्युत ११६.७८, वित्तीयको परिसूचक ११३.८८ अंकले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । मंगलबार र बुधबार पनि कारोबारको आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो । बुधबार ५९ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । बिहीबार भने यो कम्पनीको ५७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । बुधबारको तुलनामा बिहीबार कारोबार रकम घटेको हो ।

कारोबारमा आएका १३ समूह राताम्मे भएको शेयर बजारमा दुई कम्पनीको शेयरमा सर्किट लेभलमा कारोबार भएको छ । सानिमा लाइफ इन्स्योरेन्स १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको ९.९९ प्रतिशतले सर्टिक ब्रेक लागेको हो । यस्तै, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण कावेली पावरको शेयर ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

 

 
 
  
 

You may also like