मंगल ग्रहको भित्री संरचना पत्ता लाग्यो : नासा

११ श्रावण २०७८, सोमबार

काठमाडौ । वैज्ञानिकहरूले मंगल ग्रहको भित्री भागको आन्तरिक संरचना वर्णन गर्न केही ठोस तथ्य पत्ता लागेको बताएका छन् । त्यस्ता प्रमाण इन्साइट नामक अन्तरिक्ष यानबाट हात परेको नासाले जनाएको छ । उक्त यानले मंगल ग्रहमा हुने कम्पन सन् २०१९ देखि मापन गरिरहेको छ ।

नासाको नेतृत्वमा रहेको उक्त अभियानले मङ्गलको बाहिरको पत्र २४ देखि ७२ किलोमिटर बीचमा रहेको पत्ता लगाएको छ जुन पहिले ठानिएको भन्दा केही कम हो । तर अहिले पत्ता लागेको मुख्य कुरा उक्त ग्रहको भित्री भागबारे हो । त्यसको अर्धव्यास १,८३० किलोमिटर छ । यो पहिले अनुमान गरिएको सर्वाधिक मापन जति नै छ ।

पृथ्वी बाहेक अन्य ग्रहको भित्री तहको मापन गरिएको यो पहिलो पटक हो । चन्द्रमाको पनि त्यस्तै अध्ययन गरिएको छ तर मङ्गलको बृहत् अध्ययन हुन पुगेको छ । यो सूचनाका आधारमा अनुसन्धानकर्ताहरूलाई विभिन्न खगोलीय पिण्डको उत्पत्ति र विकासक्रम बुझ्न सहयोग पु¥याउने ठानिएको छ ।

इन्साइटले भूगर्भशास्त्रीहरूले भूकम्पको सङ्केतका आधारमा पृथ्वीको आन्तरिक तहको अध्ययन गर्दै आए जसरी नै मङ्गलको अध्ययन गरेको हो । यस्तो भूकम्प जाँदा ऊर्जाको लहर उत्पन्न हुन्छ । तिनले बाटो परिवर्तन गरेको आधारमा र लहरको गतिका आधारमा चट्टानी पदार्थको प्रकृति पत्ता लगाउने गरिन्छ ।

नासाको अभियानले प्रयोगमा ल्याएको सिस्मोमिटरले सयौँ परकम्पको अवलोकन गरेको छ । दुई वर्षका त्यस्ता परकम्पमध्ये केही मात्र मङ्गलको भित्री बनावटको नक्साङ्कन गर्न उपयोगी भएका थिए । अध्ययनमा नेतृत्व गरेको फ्रान्स र यूकेको वैज्ञानिक समूहले मङ्गलको कडा बाह्य पत्र २० देखि ३९ किलोमिटर रहेको बताएको छ ।

सोही अङ्कलाई अन्य मापन प्रविधि प्रयोग गरेर त्यहाँको औसत मोटाइ २४ देखि ७२ किलोमिटरसम्म हुने आकलन गरिएको छ । पृथ्वीको त्यस्तो बाहिरी तहको मोटाइ १५–२० किलोमिटर छ । हिमाल भएका क्षेत्रमा मात्र त्यस्तो मोटाइ ७० किलोमिटरसम्म हुन्छ । सबभन्दा रमाइलो अङ्क भित्री भागबारे छ ।

उक्त अध्ययन समूहले दुईवटा नयाँ तथ्य पत्ता लागेको बताएको छ । पहिलो मङ्गलको भित्री भाग पहिले सोचिए भन्दा कम सघन हुन सक्छ र फलाम वा निकल जस्ता तत्त्वको मिश्रण तथा गन्धक जस्ता हल्का तत्त्वले बनेको छ । दोस्रो चाहिँ भित्री भाग र बाहिरी भागको बीचमा हुने म्यान्टल भनिने तहबारेको जानकारी हो । यो चट्टानी तह पहिले सोचिएभन्दा पातलो पाइएको छ ।

मङ्गलको थाहा भएको आकारका आधारमा भन्नुपर्दा ब्रिजम्यानाइट खनिज स्थिर हुनका लागि आवश्यक चाप म्यान्टलले पाउने सम्भावना निकै कम छ । पृथ्वीमा यो कडा खनिजको तहले भित्री भाग छोपेको छ जसले गर्दा पृथ्वीको तापक्रम चिसिने क्रमलाई सुस्त बनाइदिएको छ । तर मङ्गलमा त्यो तह नभएका कारण छिटोछिटो चिसिएको हुन सक्छ । यदि त्यहाँ त्यो तह भइदिएको भए अन्तरिक्षबाट आउने विकिरणले क्षति पुर्‍याउनबाट रोक्ने थियो र बस्न सकिने स्थान बन्न सक्थ्यो । बीबीसी

 

फेसबुकबाट तपाईको प्रतिक्रिया