कांग्रेसमा क्रियाशील सदस्यताको किचलो : केन्द्रीय कार्यालयमा धर्नै धर्ना

काठमाडौं । बारा कांग्रेसका सभापति जयचन्द्र चौरसिया केन्द्रीय कार्यालय परिसर सानेपामा टेन्ट गाडेर धर्नारत छन् । उनको माग छ– ‘पार्टी कार्यालयको मुख्य ढोकामा धर्नामा बसेका बाराकै अर्को पक्षका कांग्रेस नेताहरूले राखेका माग पार्टीले खारेज गर्नुपर्‍यो ।’

केन्द्रीय कार्यालयको निर्देशनअनुसार पार्टीको विधान, निर्देशन र प्रक्रिया पूरा गरी क्रियाशील सदस्यको टुंगो लगाएर केन्द्रमा नामावली पठाएको चौरसियाको दाबी छ । तर, पूर्वसभासद लालबाबु सिंहलगायत नेता जिल्ला सभापति चौरसिया र क्षेत्रीय सभापतिहरूले एकलौटी रूपमा क्रियाशील सदस्यको नामावली केन्द्रमा पठाएको भन्दै उक्त नामावली खारेजीको माग गर्दै १४ दिनदेखि धर्नामा छन् ।

सभापति चौरसिया वडा, गाउँ/नगरपालिका, क्षेत्रीय समिति, प्रदेश समिति र जिल्ला समितिले अनुमोदन गरेर सबै प्रक्रिया पूरा गरी केन्द्रमा नामावली पठाइएको दाबी गर्छन् । ‘हामीले थारु, मुस्लिम, दलित, महिला सबैलाई समेटेर समावेशी सिद्धान्तअनुसार वडाबाट सिफारिस भएर आएका नामहरू सबै प्रक्रिया पूरा गरेर केन्द्रमा पठाएका हौँ’, चौरसिया भन्छन्, ‘जजसको नाम सिफारिस गरेर पठाएका छाैं, तिनीहरूलाई सदस्यता नदिने हो भने जिल्लामा पार्टीको अवस्था के होला ?’

पूर्व सभासद सिंह भने क्षेत्रीय सभापति र जिल्ला सभापतिले आफ्नो पक्षका कार्यकर्ताको नाम एकलौटी रूपमा केन्द्रमा सिफारिस गरेको आरोप लगाउँछन् । बारा ४ नम्बर क्षेत्रीय सभापति सुनीलकुमार गुप्ता भने तीन क्षेत्रीय सभापति, प्रदेश सभापति र जिल्ला सभापतिको सहमति र सहकार्यमा सबै प्रक्रिया पूरा गरेर केन्द्रमा नाम सिफारिस गरिएको दाबी गर्छन् । बारा निर्वाचन क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि जयनारायण यादव जिल्लाले पठाएको नामावलीको पोको खोलेर केन्द्रीय छानबिन समितिले सत्यतथ्य बाहिर ल्याइदिनुपर्ने बताउँछन् ।

‘उजुरीको बहाना बनाएर पार्टीको १४ औं महाधिवेशनमा बारा जिल्लालाई छुटाउने षड्यन्त्र भइरहेको छ’, यादव भन्छन्, ‘केन्द्रीय छानबिन समितिले जिल्लाको सिफारिस हेर्नुपर्छ । प्रक्रिया पुगेका नाम सदर गरोस्, प्रक्रिया पुगेका छैनन् भने बदर गरेर चाँडो निकास देओस् ।’

बारामा चौरसियासहित २ जना केन्द्रीय सदस्य र तीन क्षेत्रीय सभापति पार्टी सभापति शेरबहादुर देउवा पक्षधर छन्। पूर्वसभासद सिंहलगायत नेता रामचन्द्र पौडेल पक्षीय छन् । चौरसिया कोल्हवी नगरपालिकाका–१३ वटा वडाबाट सिधै केन्द्रमा नाम सिफारिस गरिएको भन्दै पार्टी विधान र प्रक्रिया विपरीत आएका सिफारिस खारेज हुनुपर्ने बताउँछन् । सांसद उमाकान्त चौधरीले वडा, गाउँ, क्षेत्र र जिल्ला समितिबाट कुनै निर्णय नगराई १३ वडाबाट सिधै केन्द्रमा नाम सिफारिस गरेको सभापति चौरसिया पक्षधर नेताहरूको दाबी छ ।

कांग्रेस केन्द्रीय कार्यालयको मुख्य ढोकामा पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव पनि धर्नामा बसेको ८ दिन भयो। पार्टी विधान, नियमावलीविपरीत क्रियाशील सदस्यता वितरण गरिएको डा. यादवलगायत नेता, कार्यकर्ताको दाबी छ । कांग्रेसको १४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्यालय भने धर्नास्थल बनेको छ ।

मुख्य गेटदेखि कार्यालय परिसर बारा, रौतहट, धनुषा, सर्लाहीलगायत जिल्लाका नेता, कार्यकर्ताको अनशन र धर्नाले भरिभराउ छ । केन्द्रीय नेताहरू धर्नास्थल पुग्ने र आ–आफ्ना पक्षका धर्नाकारीका मागमा ऐक्यबद्धता जनाउने काम हरेक दिनजसो हुने गरेको छ ।

कांग्रेसमा क्रियाशील सदस्यता वितरणको मुद्दा यति गम्भीर बनेको छ कि छानबिन समितिका सदस्य श्याम घिमिरेलाई कार्यकर्ताले कुटपिट नै गरेका थिए । केन्द्रीय सदस्य घिमिरेमाथि कुटपिट गर्ने सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्तामाथि कारबाही पनि भइसकेको छ । अन्य पार्टीबाट कांग्रेसमा आएकाहरूलाई क्रियाशील सदस्यता दिने कि नदिने भन्नेमा धेरै विवाद रहेको नेताहरू बताउँछन् ।

क्रियाशील नटुंगिदा वडा अधिवेशन स्थगित
क्रियाशील सदस्यहरूको टुंगो नलाग्दा कांग्रेसले साउन १२ गते पूर्वनिर्धारित सबै जिल्लाका वडा अधिवेशन स्थगन गरेको छ । क्रियाशील सदस्यहरूको नै टुंगो लाग्न नसकेपछि सभापति देउवाको अध्यक्षतामा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबारको बैठकले देभभरका वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिले सभापति देउवालाई क्रियाशील सदस्यहरूको नामावली बुझाउनु पर्नेछ । देउवाले केन्द्रीय निर्वाचन समिति र उक्त समितिले अन्तिम नामावली सम्बन्धित वडामा पठाएपछि मात्र वडा अधिवेशनहरू हुनेछन् । ६ हजार ७ सय ४३ वडा अधिवेशन गर्न पूर्व निर्धारित समय अपुग भएको कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा स्थगित वडा अधिवेशन अब कहिले गर्ने भन्ने टुंगो लागि नसकेको बताउँछन् । वडा अधिवेशनको मिति पर धकेलिँदा क्षेत्र र जिल्ला अधिवेशनहरू तोकिएकै मितिमा सम्पन्न हुनेमा आशंका पैदा भएका छन् । कांग्रेसले भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशनको मिति तोकेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like