‘नेम्वाङजीलाई संविधानमा धारा ७६ (५) किन छ भनेर सोध्नेवाला थिएँ, हिंड्नु भएछ’

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको अपव्याख्यामा समय नखर्चन एमालेलाई आग्रह गरेका छन् । संसदमा बधाई दिने कार्यक्रममा एमालेका सुवास नेम्वाङले प्रश्न उठाएपछि धन्यवाद दिन गएका देउवाले यस्तो बताएका हुन् ।

‘सभामुख महोदय, विपक्षी दलको नेता संसदमा उपस्थित हुनुहुन्न, उपनेता सुवास नेम्वाङ हुनुहुन्थ्यो उहाँ पनि हिंड्नु भएछ’, प्रधानमन्त्री देउवाले भने, ‘उहाँलाई नै भए पनि संविधानमा धारा ७६ (५) किन छ भनेर सोध्नेवाला थिएँ । उहाँ त सभामुख पनि हुनुहुन्थ्यो त्यसबेला ।’
उनले संविधानसभाको अध्यक्ष हुँदा नेम्वाङले नै यो संविधान भत्किने छैन, संसद भङ्ग हुने छैन भन्दै बोलेको स्मरण गराए ।

‘उहाँले नै यो संविधान भत्किने छैन, पार्लियामेन्ट भंग हुने छैन भनेर अन्तरवार्ता र सार्वजनिक रूपमा बोल्नु भएको म झलझली सम्झिरहन्छु’, देउवाले भने, ‘दोस्रो कुरा राष्ट्रपतिले नै धारा ७६(५) अनुसार सांसदहूको समर्थनमा सरकार बनाउन आउनुस् भनेर आह्वान गरेकै हो आह्वान गरे अनुसार हामी गएका हौँ र बहुमत सदस्यको सिग्नेचर लगेका पनि हौं ।’

देउवाले राष्ट्रपतिले बहुमत परीक्षणका लागि संसद् पठाएको वा आफैँ सनाखत गराउन सक्ने भए पनि त्यसो नगरेको बताए । ‘त्यसकारण ७६ (५) किन लेखिएको भन्ने पूर्व सभामुख (सुवास नेम्वाङ) लाई बढी थाहा छ’, देउवाले भने । उनले एमालेसहित सबै पार्टीलाई भोट हाल्न आह्वान गरेको भन्दै उनले आह्वान गर्नु पनि संविधान विपरीत हो भने भनिदिन पूर्व सभामुख नेम्वाङले नै आग्रह गरे ।

 
 
  
 

You may also like