बादशाहलाई घोडाबाट झारियो, तर अहंकार उस्तै : माधव नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘बादशाह’ को संज्ञा दिएका छन् ।
नेता नेपालले अझै पनि अध्यक्ष ओलीले राजा महाराजाको शैली देखाइरहेको टिप्पणी गरेका छन् । माधव पक्षीय नेता जगन्नाथ खतिवडा नेतृत्वको पुष्पलाल मित्रता केन्द्रले शुक्रबार ललितपुरमा गरेको प्रवचन कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

‘हिजो मात्रै राजा महाराजाको शैलीमा माधव नेपालसहितलाई आममाफी दिइन्छ भनेको सुनें । महाराजाधिराजबाट आदेश आयो, आममाफीले हामी खुशी भयौं गदगद भयौं’, ओलीप्रति कटाक्ष गर्दै नेपालले भने, ‘मैले ठानेको थिएँ, स्पष्टीकरण सोध्नु गल्ती भयो, सँच्याए भन्लान् । यसो भन्दा कसैको ‘हाइट’ घट्थ्यो र ?’

उनले ओली सुध्रिएलान् भनेर आफूले संयमता अपनाइरहेको पनि बताए । ‘डोरी जल्यो तर गाँठो उस्ताको उस्तै छ’, भने जस्तै म त मान्छे सुध्रिएलान् भनेर बस्छु, प्रवृत्ति उही छ’, उनले भने, ‘एकता होला भनेर आश गरें । हिजो पनि ख्याल गर्दै मिठो मिठो बोलें । ख्याल गरेर बोलिरहेको छु । जिब्रो हाडले छेकेको हुँदैन । जिब्रोले बोल्दीहाल्ला भन्यो, एउटा शब्द पनि तलमाथि नहोस् है भनें । तर उताबाट उही राजा महाराजाको शैलीमा आदेश आएछ ।’

उनले आफूलाई डरत्रास देखाउन ओली पक्षले घर घेर्न मान्छे पठाएको पनि आरोप लगाए । ‘माधव नेपालको घरको छेउमा मार मुङ्ग्रेहरु २५ जना बसेका थिए । यसो हेरें उपारखुट्टी लगाएर बसेका’, उनले थपे, ‘कस्ता कस्ता कहाँ गए, यिनीहरु आएर माधव नेपाल तर्सिदैन । म विशेष धातुले बनेको छु । म कुनै हालतमा डराउँदिनँ ।’

उनले कम्युनिष्टहरू विशेष धातुले बनेका भएकाले कसैको धम्कीबाट नडराउने बताए । ‘म विशेष धातुले बनेको छु, कसैसँग डराउँदिन । वादशाहलाई घोडामा झारियो तर सुध्रिएनन्’, उनले ओलीप्रति लक्षित गर्दै भने, ‘अहंकार कस्तो हुँदोरहेछ भने जति धैर्य गर्दा पनि उही शैली र उही तरिका देखियो ।’

नेता नेपालले ओलीको स्वेच्छाचारी प्रवृत्ति र लोकतन्त्रविरोधी कार्यशैलीका कारण समस्या भएको बताए । ‘हामीले कम्तीमा लोकतन्त्र जोगायौं, संसद जोगायौं’, उनले भने, ’लोकतन्त्र र संविधानको रक्षाका लागि हामी लागि रहने छौं । १२१ सिटको कम्युनिष्ट पार्टी ८३ सिटमा झरिसक्दा पनि चेतेका छैनन् । तर हामी लोकतन्त्र र संविधान जोगाउन लागिरहन्छौं ।’

 
 
  
 

You may also like