मृत्युशैंयामा पुगेको संसद जोगियो, अदालतको गरिमा बढ्यो : माधव नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मृत्युशैंयामा पुगिसकेको संसद्लाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका छन् ।

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रारम्भिक प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य भएको बताएका हुन् ।

‘झण्डै मृत्युशैंयामा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम भयो । नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटक पटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको थियो,’ नेपालले भने, ‘सर्वोच्च अदालतले सकारात्मक फैसला गरेको छ ।’

नेता नेपालले सर्वोच्चको सोमबारको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको बताए । ‘अदालतले संविधानको रक्षा गरेको छ । मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो निर्णयले राम्रो भूमिका खेल्ने छ भन्ने विश्वास छ,’ नेपालले भने ।

यस्तै फैसलाले नेपालको संविधानमा रहेका कतिपय व्याख्या गर्नुपर्ने कुरामा स्पष्टता ल्याइदिएको उनले बताए । उनले भने,‘अर्को यो फैसलाले प्रधानमन्त्रीले जथाभावी गर्न पाउँदैनन् र राज्यका अन्य निकाय पनि संविधानको दायरामा बस्नुपर्छ भनेको छ ।’ उनले दुबै पटक नै प्रतिनिधि सभा विघटन हुँदा सर्वोच्चले नै जोगाइदिएको बताए ।

सर्वोच्च अदालतले संसद पुनस्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले दोस्रोपटक जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

 
 
  
 

You may also like