बुटवल उप-महानगरद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगर पुरस्कार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आधारभूत तहको कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थीलाई नगद पुरस्कारले सम्मान गरेको हो ।

कक्षा ८ को परीक्षामा जिपिए ४ ल्याउने एभरेष्ट इङ्गलिश बोर्डिङ स्कूलका ३ जना, अक्सफोर्ड माविका २ र अन्नपूर्णकाका एक विद्यार्थीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिएको छ । बुटवल उपमहानगर शिक्षा मशाखाले एभरेष्टकी प्राज्ञी उपाध्याय, रचना खनाल र सुप्रिया भट्टराई तथा अक्सफोर्ड माविका विलक्षण भूसाल र दिपेश भूसाललाई नगद राशीसहित सम्मान गरेको छ । यसैगरी अन्नपूर्ण माविकी बसन्ता आचार्यले पनि नगद ५ हजार राशीसहित सम्मानित भएकी छन्।

नगर स्तरीय आधारभूत तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउनका लागि सहयोग गर्ने ८ जना शिक्षकहरुले मायाको चिनो (करुवा) प्रमाणपत्र प्राप्त गरेका छन् । सम्मानित हुने शिक्षकहरुमा एभरेष्ट बोर्डिङ स्कूलकी लक्ष्मीदेवि कार्की क्षेत्री, एकबहादुर गुरुङ र राजन दाहाल रहेका छन् । यसैगरी अक्सफोर्ड माविका शिक्षक लक्ष्मीनाथ मरासिनी, जीवाकुमारी शर्मा, अन्नपूर्ण माविका रोबर्ट राई, ज्ञानपुञ्ज बोर्डिङ स्कूलका कुमार सापकोटा र गणेश ज्ञानज्याती पब्लिक हाइस्कूलका मेघराज अर्यालल रहेका छन् ।

उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कार वितरण तथा सम्मानपछि बोल्दै उपमहानगरका मेयर शिवराज सुवेदीले नगरको शिक्षा विकासमा योगदान पुर्याएकोप्रति धन्यवाद व्यक्त गरे । नगरमा सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि उपमहानगरले भौतिक पूर्वाधार तथा नीतिगत सुधार र कार्यान्वयनलाई जोड दिएको बताए ।

उपमहानगरकी उपमेयर गुमादेवि आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी र शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले सम्मानि विद्यार्थी तथा शिक्षकहरुलाई बधाईसहित थप सशक्त भएर आफ्नो कर्ममा लाग्न आग्रह गरे ।

 
 
  
 

You may also like