कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो

८ असार २०७८, मंगलवार

सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भएयता भने मृतकको संख्या बढेर ३०० पुगेको हो ।

प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना सङ्क्रमण जितेका छन् । पछिल्लो चौबिस घण्टामा ३९२ बिरामी सङ्क्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयको अद्यावधिक तथ्याङ्कानुसार २७ हजार ४२१ कूल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको संख्या एक हजार ५८२ रहेको छ ।

स्वास्थ्य निर्देशक डा. रविन खड्काले पछिल्लो केही साता मृत्युदरमा कमी आए पनि सङ्क्रमण दर भने नघटेको बताए । ‘सङ्क्रमण र मृत्युदरमा केही कमी आए पनि जोखिम कायमै छ’, उनले भने, ‘कोरोनाको दोस्रो लहरको शुरुवाततिर ९८ प्रतिशतसम्म पुगेको थियो, अहिले २० प्रतिशतमा झरेको छ, तैपनि पर्याप्त सतर्कता अपनाउनु जरुरी छ ।’ सङ्क्रमण रोकथामका लागि सुर्खेतसहितका अधिकांश जिल्लाले वैशाख १४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया