विद्यालयले एसईई मूल्याङ्कन नतिजा असार २० भित्र बुझाउनुपर्ने

काठमाण्डौ । विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने भएको छ । विद्यालयहरूले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा असार २० गतेभित्र नतिजा बुझाउनुपर्ने निर्णय भएको बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्याङ्कन कार्यविधि २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्याङ्कन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको अध्यक्ष पौडेलले बताउनुभयो ।कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण भौतिक रूपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यस वर्ष पनि विद्यालयहरूले मूल्याङ्कनकै आधारमा नतिजा सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष पौडेलका अनुसार नयाँ कार्यविधि सोमवार (भोलि) सार्वजनिक गरिँदै छ । विषय शिक्षकले कार्यविधिले तोकेअनुसार मूल्याङ्कन गरेको नतिजा विद्यालयको मूल्याङ्कन समितिमा पेस गर्नुपर्नेछ । मूल्याङ्कन समितिले मूल्याङ्कन कार्यविधिले तोकेअनुसार रुजु गरी प्रमाणित गर्नुपर्छ । त्यो मूल्याङ्कनको नतिजाको हार्ड कपी, सफ्ट कपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाउने अध्यक्ष पौडेलको भनाइ छ ।यस्तै इकाइले विद्यालयले बुझाएको मूल्याङ्कन नतिजा रुजु एवम् प्रमाणित गरी असार महिनाभित्र पठाउनुपर्ने कार्यविधिमा भनिएको छ ।

 
 
  
 

You may also like