बुटवलमा दशैं सस्तो बजार सुरु

by समतल अनलाइन

बुटवल । बुटवलमा दशै सस्तो बजार शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघले बालमन्दीर परिसरमा सस्तो बजार राखेको हो । घटस्थापनाबाट शुरु भएको बजार सप्तमीको दिन असोज १७ गतेसम्म चल्नेछ ।

बुटवल उद्योग वाणिज्य संघले १९ वर्षदेखि दशैमा सस्तो बजार राख्दै आएको छ । सस्तो बजारमा दाल, चिनी, तेल, घिउ, नुन, मसला, लोकल जातका कुखुरा, टर्की, अण्डा लगायत जुत्ता चप्पल समेत राखिएका छन् । बजारमा १० प्रतिशत देखि ७० प्रतिशत सम्म छुट दिइएको उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले बुटवल अनलाइनलाई जानकारी दिए ।

दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङले सुपथ मुल्यमा चिनी, नुन र घिउ उपलब्ध गराएका छन् । चिनी प्रतिकिलो ७२ रुपैयामा उपलब्ध गराइएको छ । बाहिर बजारमा प्रतिकिलो ८० रुपैया छ । घिउमा प्रतिकिलो ५० रुपैया छुट दिइएको संस्थानले जनाएको छ । स्थानीयलाई सहुलियत दिनका लागि डिडिसीले विशेष छुटमा सामान उपलब्ध गराएको दशै सस्तो बजार संयोजक नरिश्वर भण्डारीले जानकारी दिए ।

सस्तो बजारमा नयाँ नोट सटही व्यवस्था समेत गरिएको छ । प्रतिव्यक्ति ५५ सयका दरले नयाँ नोट उपलब्ध गराइएको संयोजक भण्डारीले जानकारी दिए ।

चाडवाडको समयमा बजारमा महंगी बढेकाले सस्तो बजारले उपभोक्तालाई सहुलियत पुग्ने विश्वास गरिएको छ । सस्तो बजारमा बिभिन्न ३० वटा स्टल राखिएको छ ।

 
 
  
 

You may also like