प्रदेश–१ को बजेट अधिवेशन आज

विराटनगर। प्रदेश–१ सभाको आठौं तथा बजेट अधिवेशन आज (सोमबार) शुरु हुँदैछ । यसका लागि प्रदेशसभा सचिवालयले प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरूको पीसीआर परीक्षण गरिसकेको छ ।

प्रदेशसभाका प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोख्रेलले शनिबार स्वाब परीक्षण गरिएकामध्ये २ जना चालक, २ सुरक्षाकर्मी र एक जना पत्रकारको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् । अधिवेशनको पहिलो बैठकमा संसदीय दलका नेताहरूले शुभकामना मन्तव्य दिने र प्रदेश आर्थिक कार्यविधि ऐन (दोस्रो संशोधन) संशोधन अध्यादेश पेस हुने कार्यसूची छ ।

प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनमा बजेट ल्याउनुभन्दा १५ दिन अगावै पूर्व बजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अध्यादेशमार्फत ५ दिन कायम गरेर संशोधन गरेको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलको आइतबार बैठक बसेको थियो । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले समयमा ध्यानाकर्षण गराउँदा समेत प्रदेश सरकारले बजेट अधिवेशन आह्वान नगरी पूर्वबजेट छलफललाई औपचारिकतामा मात्रै सीमित गर्न अध्यादेशमार्फत ऐन संशोधन गरेकाले आपत्तिजनक भएको बताए ।

जनता समाजवादी पार्टीका नेता जयराम यादवले कोरोना महामारीलाई देखाएर पूर्वबजेट छलफललाई औपचारिकतामा सीमित गर्ने प्रदेश सरकारको काम आपत्तिजनक भएको बताए ।

 
 
  
 

You may also like