प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता ३७ प्रदेशसभा सदस्यको हस्ताक्षर, नयाँ मुख्यमन्त्रीमा भीम आचार्य प्रस्ताव

by समतल अनलाइन

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । राईविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षका ३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान १०ः४० मिनेटमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।

अविश्वास प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थक लक्ष्मण तिवारी छन् । उक्त समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएको छ । संसदीय दलको चुनावमा २६ मत ल्याएका राईले आचार्यलाई दुई मतले हराएका थिए ।

अविश्वास प्रस्तावको तयारीमा अगुवाइ गरेका प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोलाई शनिबार साँझ मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए । ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना छन् । नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्व माओवादीका १६ जना छन् ।

दाहाल–नेपाल पक्षधरले २२ जनाभन्दा कम प्रदेशसभा सदस्य मुख्यमन्त्री राईसँग रहेको दाबी गर्दै आएका थिए । मुख्यमन्त्री राई पक्षधरले भने ३५ भन्दा बढी प्रदेशसभा सदस्यहरू आफूहरूसँग रहने दाबी गरेका थिए । प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्य चाहिन्छ ।

यसअघि आइतबार बिहान सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गजमेरलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए तर उनले त्यसलाई अस्वीकार गर्दै दाहाल–नेपाल पक्षमा बस्ने निर्णय गरेकी थिइन् ।

 

 
 
  
 

You may also like