कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर । प्रदेश नम्बर १ को कोशी अस्पताल (विराटनगर)मा उपचाररत थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।दोस्रो पटक पीसीआर टेस्ट गर्दा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका नागरिक छन् ।कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये बुधबार मात्रै ६ जना डिस्चार्ज भएका थिए ।

प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३१ छ । शुक्रबार ८ र बुधबार ६ गरी १४ जना डिस्चार्ज भइसकेका छन् । अब कोशी अस्पतालको आइसोलेसनमा १७ जना कोरोना संक्रमित उपचाररत छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जानकराी दिएको छ ।बिहीबारसम्मको तथ्याङ्कअनुसार प्रदेश १ मा पीसीआर विधिबाट १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै र्‍यापिड डाइग्नोस्टि टेस्ट (आरडीटी) विधिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

देशभरमा हालसम्म १०१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्येका ३० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

 
 
  
 

You may also like