ओलीको एकता प्रस्ताव स्वार्थ पुरा गर्ने योजनागत षड्यन्त्र : रामकुमारी झाँक्री

काठमाडौं। नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकताका लागि भन्दै जारी गरेको वक्तव्य स्वार्थ पूरा गर्ने षड्यन्त्र मात्र भएको बताएकी छिन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले आइतबार साँझ पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै असन्तुष्ट माधव नेपाल पक्ष समक्ष ६ बुँदे प्रस्ताव राखेका छन् । यो प्रस्ताव सञ्चारमाध्यममा सार्वजनिक हुनासाथ नेपाल पक्षका नेताहरू पनि दुई धारमा विभाजन भएका छन् । एउटा– सहमति गर्नुपर्छ भन्ने त अर्काे हुँदैन भनिरहेका छन् ।
नेत्री झाँक्री पनि ओलीको प्रस्ताव अमल्याउने र धोका दिने अस्त्र मात्र भएको धारणा राख्छिन् ।

वक्तव्य जारी गर्दै नेत्री झाँक्रीले भनेकी छन्, ‘पढ्दै जाँदा लाग्यो– पार्टीको एकता खास उद्देश्यका लागि थियो र एकता भंग पनि खास उद्देश्य पूरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ ।’
नेत्री झाँक्रीको वक्तव्य जस्ताको तस्तै :

भर्खरै मिडियामा अध्यक्ष क। खड्गप्रसाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरुमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुँदै पढें । पढ्दै जाँदा लाग्यो– पार्टीको एकता खास उद्देश्यका लागि थियो र एकता भंग पनि खास उद्देश्य पूरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घामजस्तै छ।

अब रह्यो, नेकपा एमालेको एकताको कुरा : यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्षबीचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपालसहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो । एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन, झुक्याउन, अलमल्याउन र मिडिया कन्जम्सनका लागि हो भनेर बुझ्नुपर्छ ।

अझ गम्भीर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ । यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन र ? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन, संसद पुनःस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौं । हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन । त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य हो । यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु । विकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिबारे हाम्रो पार्टीको स्थायी कमिटी बैठक बसी संस्थागत धारणा दिइनेछ ।

 
 
  
 

You may also like