दुर्गा बिक बनिन् एमाले सुदूरपश्चिमको प्रमुख सचेतक

धनगढी। नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकले पाएकी छिन् । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूर्ण सेवा सुविधा पाउने गरी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताए ।

यसअघि एमाले संसदीय दलले तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नियुक्त गरिएको थियो । तर उनी सामाजिक विकासमन्त्री बनेपछि पार्टीकी सचेतक समेत रहेकी बिकलाई प्रमुख सचेतकको काम कारबाही हेर्ने गरी जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनाएको छ ।

कार्य व्यवस्था परामर्श समितिबाट तामाङ ‘आउट’
एमाले संसदीयदलले प्रदेशसभा सदस्य तारा लामा तामाङलाई प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको सदस्यबाट समेत हटाएको छ ।

हालै पार्टीको तत्कालीन प्रमुख सचेतकबाट जिम्मेवारीमुक्त गरिएका तामाङलाई कार्य व्यवस्था परामर्श समितिको सदस्यबाट हटाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव धामीले तामाङको ठाउँमा अहिले प्रमुख सचेतकको जिम्मेवारी दिइएकी बिकलाई सदस्य बनाइएको जानकारी प्राप्त भएको जनाए ।

उनकाअनुसार कार्य व्यवस्था परामर्श समितिबाट अर्चना गहतराजलाई पनि हटाइएको छ । गहतराज राज्यमन्त्रीमा नियुक्त भएका कारण उनको ठाउँमा प्रदेशसभा सदस्य अमरबहादुर साउदलाई ल्याइएको छ ।

 
 
  
 

You may also like