प्रदेश–१ का मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

by समतल अनलाइन

मोरङ । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा पत्र बुझाएका छन् । सोमबार अपरान्ह प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री आचार्यले सोमबार बसेको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेका थिए । त्यस लगत्तै उनी राजीनामा पत्र लिएर प्रदेश प्रमुख समक्ष गएका हुन् । मुख्यमन्त्री आचार्य विश्वासको मत लिने तयारीमा थिए । तर विश्वासको मत नपाउने अवस्थामा भएपछि उनले सरकारका कामबारे प्रदेशसभा बैठकमा जानकारी गराएर राजीनामा दिएका हुन् ।

उनी गत भदौ १० गते प्रदेश–१ का दोस्रो मुख्यमन्त्री बनेका थिए । आचार्यले गत कात्तिक ५ गते विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गरेका थिए । अहिले प्रदेश–१ मा ९२ सांसद छन् । जसमा एमालेका ४१ सांसद छन् । विश्वासको मत लिन आचार्यलाई ४७ संख्या आवश्यक थियो । विश्वासको मत लिन आवश्यक ६ मत जुटाउन नसकेपछि आचार्य बाहिरिएका हुन् ।

 
 
  
 

You may also like