एकता चाहन्छौं तर, त्यो लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुपर्छ : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु एकताकै पक्षमा रहेको बताएका छन् । तर त्यो एकता त्यो लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुपर्ने उनको भनाई छ ।

आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको दुई दिने (बिहीबार र शुक्रबार)को भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरुको धारणा सुनेपछि वरिष्ठ नेता नेपालले अहिलेको प्रमुख बिषय लोकतन्त्र र कम्युनिष्ट आन्दोलन बचाउने रहेको बताए । वरिष्ठ नेता नेपालको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी एकता बिरोधी होइनौं । हामी एकताकै पक्षमा छौं । तर, त्यो एकता लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुपर्छ।’

अध्यक्ष ओली पार्टी कमिटीलाई जेठ २ मा फर्काउने गरी आए एकता सम्भव रहेको उनको भनाई छ । वरिष्ठ नेपालले आफू एकताकै पक्षमा रहेका पनि तर ओलीका क्रियाकलापले पार्टी एकतासम्बन्धी आम चाहनालाई खण्डित गरिरहेको बताए । नेपालले भने, ‘एकतालाई प्राथामिकतामा राखेका छौँ । म पार्टी एकताकै पक्षमा छु । तर, ओलीका क्रियाकलाप र चिन्तनले पार्टी विभाजनको खतरा बढाएको छ ।’

‘अब वैकल्पिक पार्टी निर्माण र ओलीसँग वार्ता सँगसँगै’
नेता नेपालले अब वैकल्पिक पार्टी निर्माण र केपी ओली पक्षसँग वार्ता सँगसँगै अगाडि बढाउने पनि बताए । ओलीले वार्ताको नाममा वैकल्पिक पार्टी निर्माणलाई अलमल्याउने आशंका रहेको भन्दै वरिष्ठ नेता नेपालले वार्ता र वैकल्पिक राजनीतिक दल बनाउने विषय सँगसँगै लैजानु पर्ने बताएका हुन् ।

छलफलमा नेता नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नहुने पनि बताए । त्यो पार्टीको मात्रै विषय नभएर देश र संविधान रक्षाको बिषय रहेको भन्दै नेता नेपालले भने, ‘देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र संसद् विघटनविरुद्ध अदालतमा परेको रिट फिर्ता हुँदैन।’

बैठकमा अधिकांश केन्द्रीय सदस्यले वार्तालाई प्राथमिकतामा र विकल्पमा पार्टी पुनर्गठनलाई राख्नुपर्ने धारणा राखेका छन् । ओली पार्टी संरचनालाई तत्काल पूर्ववत् अवस्थामा फर्काउन तयार भए एकता बचाउनुपर्ने उनीहरुको सुझाव छ । तर शीर्ष नेताहरुमाथिको कारबाही फिर्ता नलिएसम्म ओली पक्षसँग औपचारिक वार्ता नगर्न अधिकांस केन्द्रीय कमिटी सदस्यहरुले सुझाव दिएका छन् । शीर्ष नेताहरु र वार्ता कमिटीकै संयोजकलाई समेत कारबाही गरेको अवस्थामा औपचारिक वार्ता सम्भव नहुने अधिकांस केन्द्रीय कमिटी सदस्यहरुको सुझाव रहेको एक केन्द्रीय सदस्यले बताए ।

 
 
  
 

You may also like