ईश्वर पोखरेल र प्रदीप ज्ञवाली मन्त्रीबाट बाहिरिंदै

काठमाडौ। केपी शर्मा ओली नेतृत्वको सरकारका महत्वपूर्ण सारथीका रुपमा भूमिका निर्वाह गर्दै आएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सरकारबाट बाहिरिने भएका छन् । यसको सट्टा अर्थमन्त्री विष्णु पौडेललाई सिनियर उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्री ओलीले महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

एमालेले ०७४ सालदेखि नै मन्त्री भएकाहरुलाई हटाएर नयाँलाई मात्र कायम राख्ने मापदण्ड बनाएका कारण ईश्वर पोखरेल र प्रदीप ज्ञवाली बहिर्गमनमा परेको स्रोतले जानकारी दिएको छ । यो मापदण्ड अनुसार सरकारमा अब एमालेका तर्फबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्तकुमार नेम्वाङ मात्रै बाँकी रहन्छन्, अरु सबै बाहिरिन्छन् । बाहिरिने एमालेका मन्त्रीहरुमा हृदयेश त्रिपाठी, पदमा अर्याल, शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङ लगायत पर्नेछन् ।

पोखरेल र ज्ञवालीलाई पार्टीको जिम्मेवारी

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाउने स्रोतले बताएको छ । उनलाई वामदेव गौतमको ठाउँमा उपाध्यक्ष बनाउने र पार्टी कामको जिम्मा दिने सम्भावना छ ।

हाल पार्टीको प्रवक्ता रहेका प्रदीप ज्ञवालीले पनि पार्टीको काम सम्हाल्ने र उनलाई भावी महासचिवका रुपमा हेरिएको स्रोतले बताएको छ । त्यसो त एमाले महासचिव ईश्वर पोखरेलले उपप्रधानमन्त्रीसहित गृहमन्त्री पाउनु पर्ने ईच्छा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी वा महेश बस्नेतमध्ये एक जनालाई ल्याउन चाहेको स्रोतको भनाइ छ ।

 

 
 
  
 

You may also like