हामी बुढा भयौँ, क्रान्तिको नेतृत्व युवाहरूले गर्नुस् : झलनाथ खनाल

काठमाडौं । नेकपाका (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका पहिलो पुस्ताका नेतालाई बिदा दिन आग्रह गरेका छन् । इतिहास, समाज र देशको वस्तुगत आवश्यकताले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने अवस्था रहेको भन्दै खनालले नेतृत्व लिन आग्रह गरेका हुन् ।

विहिबार नेपाल–खनाल समूहको केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै खनालले विश्व कम्युनिस्ट आन्दोलनलाई जसरी युवा पुस्ताले आँट र साहस गरेर अगाडि बढाए त्यसैगरी अब नेपाली कम्युनिष्ट आन्दोलनलाई पनि युवाले अघि बढाउनु पर्ने बताए । भने, ‘हामी बुढा पनि भयौँ । तपाईंहरू आराम गर्नुस् भन्नुहुन्छ भने हामी तयार छौँ । तपाईंहरूले भन्नु पनि पर्छ । विश्व कम्युनिस्ट जसरी युवा पुस्ताले आँट, साहस गरे र क्रान्तिलाई अघि बढाए, अब तपाईंहरूले पनि आँट गर्नुपर्छ । तपाईंहरू भन्नुहुन्छ भने हामी अझै केही समय लतारिन तयार त छौँ तर अब तपाईंहरूले नै आँट गर्नुपर्छ ।’

खनालले अध्यक्ष केपी शर्मा ओली जेठ २ मा फर्कन तयार भए सकारात्मक नभए कम्युनिस्ट आन्दोलन पुनर्गठनका लागि तयारी गर्न आग्रह समेत गरे । भने, ‘अर्को पक्षसँग जे वार्ता, छलफल भइरहेको छ, यदि अनौपचारिक ढंगले भइरहेको छलफलहरू पनि २ जेठको सांगठनिक संरचनामा पुगेर अगाडि बढ्नका लागि केपी ओली तयार छन् भने सकारात्मक कुरा हो । कम्युनिस्ट आन्दोलनलाई विभाजन, विखण्डन गरेर क्रम बढिरहेको वेला २ जेठमा उभिएर पार्टीलाई सांगठनिक रूपले एकताबद्ध बनाएर त्यहीँभित्र वैचारिक रूपले संघर्ष गर्ने ठाउँ रहन्छ, विमतिलाई बिस्तारै निष्कर्षमा लैजान सकिन्छ । तर, त्यसो हुँदैन भने कम्युनिस्ट आन्दोलन पुनर्गठनका लागि तयारी गर्नुस् ।’

उनले विश्व कम्युनिस्ट आन्दोलनमा पहिलो चरणमा कार्ल माक्र्स, दोस्रो र तेस्रो चरणमा लेनिनले आँट गरेर क्रान्तिलाई नयाँ दिशा दिएकाले नेपालमा पनि दोस्रो र तेस्रो पुस्ताका युवाहरूले आँट गरेर कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए । ओलीबाट भने कम्युनिष्ट आन्दोलन नबच्ने उनको भनाई छ । ‘केपी ओली कम्युनिष्ट नै होइनन् । उनीबाट आन्दोलन जोगिंदैन,’ खनालले भने ।

 
 
  
 

You may also like