२० प्रतिशत छुट कार्यान्वयनमा, अब खाना पकाउने ग्यासकाे मूल्य १,१२० रुपैंयाँ

काठमाडौं। आर्थिक वर्ष २०७८–०७९ को बजेट वक्तव्यमा उल्लेखित २० प्रतिशत छुट सुविधाको कार्यान्वयन शुरु भएको छ ।
अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा विक्री वितरण हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय भएको छ ।

बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको विक्री मूल्यमा २० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।

बैठकमा छुट सुविधा प्रदान गरिने ग्राहकलाई उपलब्ध गराउने उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा ५ जनाको परिवारलाई एक इकाई मानी सहुलियतका सामग्री पहिलो पटक एक महिनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै साल्ट ट्रेडिङबाट २ केजी पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटर भटमासको खाने तेल र खाना पकाउने ग्यास १ सिलिन्डर सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ । योसँगै अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्टबाट विक्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत राहत सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम अन्तरगतको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट विक्री हुने चामल, खाद्यान्न नून, तेल, चिनीसहित खाना पकाउने एलपी ग्यासमा निषेधाज्ञाभर अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

सहुलियत दरमा उपलब्ध गराइएका सामग्री खरिद गर्ने ग्राहकको पहिचान खुल्ने कागजातसहितको विवरण तयार पार्ने, दुवै कम्पनीले ग्राहकलाई प्रदान गरेको छुटसम्बन्धी विवरण मासिक रुपमा तयार पारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा सोध भर्ना माग गर्ने निर्णय पनि भएको जनाइएको छ ।

बैठकमा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, सहसचिवहरू समुन दाहाल, धनीराम शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेम श्रेष्ठ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनबहादुर चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका नायव कार्यकारी निर्देशक कुमार राजभण्डारी थिए ।

 
 
  
 

You may also like