नेपाल–खनाल पक्षका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका बागमती प्रदेशका १४ प्रदेशसभा सदस्यले पार्टीको संसदीय बोर्डमा स्पष्टीकरण बुझाएका छन् ।

६ जेठमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवारलाई मतदान नगरेपछि प्रदेश संसदीय बोर्डले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएका १४ सदस्यले एकमुष्ठ रुपमा स्पष्टीकरण बुझाएका एमालेको बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिएका छन् ।

बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित नेपाल पक्षका सांसदहरु राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीसँग स्पष्टीकरण मागेको थियो ।

प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नपाइए उनीहरुलाई पार्टी विधानानुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बताए । ६ जेठमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा उनीहरुले एमाले उम्मेदबार रामबहादुर थापा बादललाई मतदान नगरी संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका डा.खिमलाल देवकोटालाई मतदान गरेका थिए । निर्वाचनमा देवकोटा नै विजयी भएका थिए । उनी एमाले वरिष्ठ नेता माधव नेपालकै प्रस्तावमा विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

 

 
 
  
 

You may also like