विभाजनको बाटोमा एमाले : माधव-झलनाथ सहित ११ नेतालाई सोधियो स्पष्टीकरण

काठमाडौं । नेकपा (एमाले) को आज (शनिबार) बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल सहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री चयनका लागि हस्ताक्षर गरेका २६ सांसदमध्ये ११ जनालाई मात्रै स्पष्टीकरण सोध्ने निर्णय भएको छ । स्थायी कमिटी बैठकले नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पाकुमारी न्यौपाने, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमार चौधरी र कल्याणी खड्कालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

‘अहिलेलाई स्पष्टिकरण सोधेका छौं,’ उनले भने, ‘उहाँहरूको जवाफअनुसार थप कारबाही अघि बढाउने निर्णय भएको छ ।’ स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् । माधव नेपाल पक्षका २६ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिएको थियो । बाँकी १५ जनालाई भने स्पष्टीकरण सोधिएको छैन । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

‘कतिले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य दिनु भएको छ’, ज्ञवालीले भने, ‘माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने वातावरण बन्यो समर्थन गर्छौ भनेर हस्ताक्षर गरेका हौं । शेरबहादुर देउवालाई समर्थन छैन भनेर कतिले भन्नु भएको छ त्यसैले अहिले ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं ।’ एमालेले उनीहरुलाई पर्सी बिहानसम्म स्पष्टीकरण दिन भनेको छ । माधवकुमार नेपाल समूहमा रहेका योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका प्रभावशाली नेताहरुलाई भने स्पष्टीकरण सोधिएको छैन ।

 

 
 
  
 

You may also like