दुई अनेरास्ववियुले भन्यो : संविधानको रक्षक राष्ट्रपति नै प्रतिगमनको मतियार

काठमाडौं। नेकपा माओवादी केन्द्रनिकटको अखिल क्रान्तिकारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुले संविधानको रक्षक राष्ट्रपति नै प्रतिगमनको मतियार भएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ र नेपाल निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मुलुक, लोकतन्त्र र संविधानको संरक्षक राट्रपति भण्डारी केवल ओली गुटको संरक्षक भएको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित संस्था संविधानको रक्षक राष्ट्रपति कसैको मतियार हुने होइन, संविधान र व्यवस्थाप्रति नै निर्लज्ज दमन हुँदा पनि राष्ट्रपतिजस्तो संस्थाले प्यादाको भूमिका खेल्नु हुँदैन थियो।’

देशले कोरोनाविरूद्धको भ्याक्सिन चाहेको बेला, अक्सिजन, अस्पतालको बेड मागेका बेला, चुनाव थोपर्ने ओलीको संवेदनहीन, गैरजिम्मेवार, अराजनितिक कार्यको परिणाम भोग्नुपर्ने उनीहरूको चेतावनी छ।

उनीहरुले आन्दोलनको कार्यक्रम समेत घोषणा गरेका छन् । सरकारका मन्त्रीहरूको गाडी चल्न नदिनेदेखि प्रधानमन्त्री र राष्ट्रपति कदमको भण्डाफोर गर्नेसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झुण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो ।

 

 
 
  
 

You may also like