निर्वाचनको तयारीमा लाग्न आयोग पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । निर्वाचन अपरिहार्य भएकाले नै यसरी निर्वाचनतर्फ नै अघि बढेको बताएका थिए ।

निर्वाचन आयोगका पदाधिकारी भन्छन्– चुनाव गर्न समय पर्याप्त

निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनका लागि सरकारले तोकेको समय पर्याप्त रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान छलफलमा सहभागी प्रमुख आयुक्त र आयुक्तहरुले सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराएका हुन् ।

आयोगका पदाधिकारीलाई शनिबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री ओलीले परामर्श गरेका थिए । परामर्शमा सहभागी एक पदाधिकारीले भने, ‘निर्वाचनको तयारीका लागि चाहिने १२० दिन हो । अहिले तोकिएको समयभित्रै सबै तयारी गर्न सकिन्छ ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति तोकेकी छन् । निर्वाचन सम्बन्धी ऐनमा निर्वाचनका लागि १२० कार्य दिन तोकिएको छ । निर्वाचनका लागि गर्नुपर्ने सबै तयारी सकिने भन्ने परिकल्पनाअनुसार १२० कार्य दिन तोकिएको हो ।

‘२०७४ सालमा ९५ दिनभित्रै निर्वाचन गराएको अनुभव समेत छ,’ निर्वाचन आयोगका आयोगका एक अधिकारीले भने, ‘कानुनीरुपमा हेर्दा सरकारले तोकेको निर्वाचन समय पर्याप्त छ ।’ यद्यपि निर्वाचन सम्बन्धी केही कानुन संशोधन गर्नु पर्ने जानकारी आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई गराएका थिए ।

केन्द्र, प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै कानुन भए पनि धेरैजसो बुँदाहरु दोहोरिएकाले त्यसलाई मिलाउनुपर्ने आवश्यकता उनीहरुले औंल्याएका थिए । प्रधानमन्त्री ओलीले कानुनी, आर्थिक र कर्मचारी व्यवस्थापन लगायतका सबै तयारी गर्न आग्रह गर्दै त्यसमा सरकारको पूर्ण साथ रहने बताएका थिए ।

 
 
  
 

You may also like