बादललाई भोट नदिएको भन्दै १४ प्रदेश सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वागमती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।जेठ ६ गतेको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ प्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोप लगाएर प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

उनका अनुसार बोर्ड बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले पार्टीको निर्णय विपरीत नेकपा एमालेको उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई मत नदिएको र पार्टीको निर्णय विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए । बैठकले उनीहरुलाई आइतबार साँझ ५ बजेभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

निर्धारित समयमा पनि उचित स्पष्टीकरण पेश नगरे पार्टीले आवश्यक कारवाही प्रकृया अगाडि बढाउने प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए । त्यस्तै बैठकले प्रदेश सरकारले हालसम्म कोरोना नियन्त्रणमा गरेको कामको प्रशंसा गर्दै थप क्रियाशिल भइ प्रदेशमा कोरोना नियन्त्रणमा लाग्न अनुरोध गरेको छ । बैठकले कोरोनाका कारण मृत्यु भएका प्रदेशसभा सदस्य पशुपतिप्रसाद चौलागाईंको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।

 
 
  
 

You may also like