कोरोनाबाट एउटै गाउँका ७ जनाको मृत्यु

महोत्तरी। कोरोना महामारीको दोस्रो लहर चलिरहेको अवस्थामा महोत्तरीको एउटै गाउँमा सात जनाको मृत्यु भएपछि गाउँबासी त्रसित भएका छन् ।जिल्लाको पिपरा गाउँपालिका–७ मा पर्ने बनौली गाउँमा विगत १५ दिनभित्र सात जनाको मृत्यु भएपछि सो गाउँ भर त्रास फैलिएको हो । स्थानीय वैद्यनाथ चौधरीका अनुसार गाउँको एउटै जातिका ६ र अन्य जातिका एक गरी सात जनाको मृत्यु भइसकेपछि अहिले सो गाउँका सम्पूर्ण बासिन्दा भयपूर्ण जीवन बिताइरहेका छन् ।

सो गाउँमा मृत्यु भोज, विवाह भोज र व्रतबन्ध भोज जस्ता कार्यक्रमहरू भइरहेको र सयौंको संख्यामा मानिसहरु एकै थलोमा बसेर भोजभतेर खाने गरेको पाइएको छ । कोरोनाकै कारण विभिन्न अस्पतालमा मृत्यु भएकाहरुको पनि गाउँमा दाहसंस्कारदेखि श्राद्ध कर्म भइरहेको र सो क्रममा भोजभतेर र सयौं मानिस एकै ठाउँमा जमघट हुने गरेका छन् । यसका अलावा कोरोना महामारीकै बीचमा गाउँभरी अहिले व्रतबन्ध र विवाह जस्ता कार्यक्रम पनि भइरहेको वडाध्यक्ष रुपेश झाले स्वीकार गरे ।

वडाध्यक्ष झाले आफू गाउँलेहरूलाई भीडभाड नगर्न, भोजभतेर नगर्न, विवाह, व्रतबन्धजस्ता शुभ कार्यमा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पूरा गर्न भनिरहँदा पनि गाउँलेहरु आफ्नो परम्परा र संस्कार भन्दै बेवास्ता गर्दै सबै क्रियाकलापहरू सञ्चालन गर्ने गरेको बताए ।

यस सम्बन्धमा गाउँलेहरुले इलाका प्रहरी कार्यालय सहोडबामा गुनासो गर्दा प्रहरी आउन नमान्ने र अनेको बिन्ती भाउ गरेपछि आए पनि विवाह गर्ने पक्षसँगै मिलेर रु हजार–दुई हजार घुस खाएर डिजे बाजा बजाउन र नाचगान गर्न रोक्नुको साटो झन् बजाएर मनोरञ्जन गर्न छुट नै दिने गरेको नाउँ नछाप्ने सर्तमा दर्जनौं स्थानीयवासीले बताए ।

 
 
  
 

You may also like