नयाँ कोरोना संक्रमितको संख्या केही कम हुन थाल्यो

काठमाडौं। नेपालमा नयाँ कोरोना सङ्क्रमितको संख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका अधिकांश भागमा लगाइएको निषेधाज्ञा र स्वास्थ्य मापदण्डमा गरिएको कडाइले कोरोना सङ्क्रमण थप वृद्धि नहुने देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको थियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ४६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जना सङ्क्रमित थपिएका हुन् ।

यस्तै वितेको २४ घण्टामा थप २०३ जना सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो दिन २१४ जना सङ्क्रमितको मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने संख्या चार हजार ६६९ पुगेको छ ।

अहिले सक्रिय सङ्क्रमितको संख्या एक लाख सात हजार ३३६ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । योसहित हालसम्म कोरोना निको हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर कूल सङ्क्रमितको ७४ दशमलब ५ प्रतिशत हो । गोरखापत्र दैनिकबाट

 

 
 
  
 

You may also like