ओलीलाई नेपाल–खनाल पक्षको साढे ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आज (बिहीबार) साढे ४ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ ।

नेपाल–खनाल पक्षका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको जानकारी दिएका छन् । त्यतिबेलासम्म ओलीले आफूहरुको माग पूरा गर्ने प्रतिवद्धता नजनाए सांसद सदस्यताबाट राजीनामा गर्ने उनले जानकारी दिएका छन् ।

‘हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर भनिरहेका छौं । अब हाम्रा वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीबीच वार्ता हुँदैछ । वार्ता हुनु सकारात्मक हो,’ रावलले भने, ‘तर, हाम्रा यी माग पूरा भएनन् भने साढे ४ बजेपछि हामी राजीनामा दिन्छौं ।’

नेपाल–खनाल समूहले २०७५ जेठ २ गतेको पार्टी संगठन ब्युँत्याउनका लागि आज साँझ ४ बजेसम्मको समय सीमा तोकेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलेको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकले नेपालसहितका चार नेताहरुमाथि कारबाही फुकुवा गर्ने निर्णयपछि बसेको नेपाल निकट स्थायी कमिटीको बैठकले सो समय तोकेको हो ।

‘विभिन्न स्रोतहरुबाट जेठ २ मा फर्किने सन्देशहरु आएका छन् । तर यो झुक्याउनका लागि पनि हुनसक्छ । यसको प्रमाणिकता खोजेका छौं,’ उपमहासचिव घनश्याम भूसालले भने, ‘यस विषयमा औपचारिक र सामुहिक छलफलमा यो विषय आउनु पर्छ ।’ नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उप महासचिव भुसाल र स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेमाथि पार्टी अनुशासन विपरित काम गरेको भन्दै एमालेले ६ महिनाका लागि कारवाही गरेको थियो ।

 
 
  
 

You may also like