मंगलबार अविश्वास प्रस्ताव दर्ता हुने सूचना पाएपछि संसद्को चालू अधिवेशन सोमबार नै अन्त्य

देउवा आक्रामक– ‘ओली अहिले भारतको टाङमुनि छिरिसकेका छन्’
काठमाडौं। सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको अन्तिम तयारी भएको सूचनापछि प्रधानमन्त्री केपी ओलीले हठात् संसद्को अधिवेशन अन्त्य गराएका छन् । प्रमुख विपक्षी दल कांग्रेस र माओवादी मिलेर मंगलबार दिउँसो १ बजेअगाडि नै अधिवेशन अन्त्य गर्ने तयारी गरेका थिए, तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले सोमबार दिउँसो १ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरिन् ।

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । उनीहरूबीच मंगलबार संसद् बैठकअघि नै अविश्वासको प्रस्ताव अगाडि बढाउने सहमति बनेको थियो ।

‘दुवै पार्टीले सोमबार आ–आफ्नातर्फबाट औपचारिक निर्णय गराउने र मंगलबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी थियो । त्यसैका लागि सोमबार नै कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक र माओवादीले स्थायी कमिटी बैठक समेत बोलाएका थिए,’ कांग्रेसका एक नेताले भने ।

करिब डेढ महिनाको गृहकार्यपछि कांग्रेस र माओवादी सहमतिमा पुगेको थाहा पाएपछि प्रधानमन्त्रीले ओलीले मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक डाकेर संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस पठाएका थिए । संसद् अधिवेशन अन्त्य भएको खबर पाएपछि माओवादीले स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरेको थियो । त्यस्तै साँझ बसेको कांग्रेस बैठकमा संसद् अधिवेशन अन्त्य गर्ने ओलीको कदमबारे छलफल भए पनि अविश्वास प्रस्ताव दर्ताबारे ठोस निर्णय भएको छैन ।

संसद् अधिवेशन अन्त्य भएपछि के गर्ने ? कांग्रेस र माओवादीले त्यस्तो कुनै निर्णय गरेका छैनन् । पहिला अविश्वास प्रस्तावमा औपचारिक सहमति गर्ने, संसद् सचिवालयमा प्रस्ताव दर्ता गर्ने र अधिवेशनका लागि राष्ट्रपतिकहाँ समावेदन लिएर जाने कांग्रेस र माओवादीको अबको रणनीति छ । यद्यपि, एमसिसी पारित कसरी र कहिले गर्ने भन्नेमा देउवा र प्रचण्डबीच अन्तिम सहमति भइनसकेको, तर सहमति जुटाएर सत्ता समीकरणका लागि अगाडि बढ्न तयार भएको स्रोतहरू बताउँछन् ।

देउवाले सोमबार प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिएर संसद् अधिवेशन अन्त्य गर्ने उनको कदममा असन्तुष्टि जनाएका छन् । संसद्मा प्रतिपक्षको भूमिकामा हुँदा पनि प्रधानमन्त्री ओलीको समर्थनमा झैं देखिएको आरोप खेप्दै आएका देउवाले सोमबार निकै लामो समयपछि प्रधानमन्त्री ओलीविरुद्ध चर्को अभिव्यक्ति दिएका हुन् । नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवस समारोहमा बोल्दै देउवाले भारतविरुद्ध नारा लगाएर चुनाव जितेका ओली अहिले भारतको टाङमुनि पुगिसकेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जसरी पनि सत्तामा टिक्ने प्रधानमन्त्री ओलीको मानसिकताका कारण हठात् संसद् अन्त्य भएको बताए । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भयले प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त्य गराएको नेता श्रेष्ठको भनाइ छ । ‘अधिवेशन अन्त्य गर्दैमा उनले अब आफ्नो सत्ताको रक्षा गर्ने अवस्था छैन । सत्तालिप्साले उनलाई निरंकुश बनाएको छ । उनले सार्वभौम थलो संसद्को समेत अपमान गरेका छन् । तर, उनी अब कुनै हालतमा सत्ता बचाउन सक्ने अवस्था र अंकगणितमा छैनन्,’ उनले भने ।

संसद् अधिवेशन आकस्मिक स्थगन गरिएको भन्दै कांग्रेसको सोमबार बसेको केन्द्रीय समिति बैठकले सरकारको स्वेच्छाचारी प्रवृत्तिको भत्र्सना गरेको छ । ‘सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ । वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसद्बाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धतिको बर्खिलाप छ,’ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई मनको बाघले खाएको टिप्पणी गरे । ‘कर्णालीले काठमाडौंलाई एउटा सन्देश दिइसकेको छ । कांग्रेसले पनि विकल्प खोज्ने निर्णय गरिसकेको अवस्थामा उहाँ आत्तिनुभएको हुन सक्छ । उहाँले डर राख्नु स्वाभाविक हो,’ शर्माले भने, ‘खासमा ‘वनको बाघले खाओस्–नखाओस् मनको बाघले खान्छ’ भनेझैं उहाँलाई मनको बाघले खाएको हो ।’

प्रवक्ता शर्माले कांग्रेसले सरकारको विकल्प खोज्ने भने पनि निश्चित प्रक्रिया पूरा गर्न बाँकी भएको भन्दै अहिले नै आक्रमणको अवस्था आइनसकेको बताए । कांग्रेसले मंगलबारको संसदीय दलमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन गरेको छ ।

कांग्रेसले गत २० चैतको केन्द्रीय समिति बैठकबाटै प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो । तर, सभापति देउवाले संसद्मा बहुमत नभएको अवस्थामा कांग्रेसले पहल गर्नुको अर्थ नहुने भन्दै जसपाको निर्णय पर्खिनुपर्ने बताउँदै आएका थिए । माओवादी केन्द्रले समेत सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा कांग्रेससँग बहुमतको सरकारविरुद्ध बोल्ने तागत नभएको देउवाको भनाइ थियो ।

तर, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरूले फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि केन्द्रमा पनि त्यस्तै हुन सक्ने राजनीतिक सन्देश मिलेको थियो । कर्णालीकै राजनीतिक सन्देशलाई आधार बनाएर जसपाले निर्णय नलिएकै अवस्थामा पनि कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्तावको तयारी थालेका थिए । जसपाको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने र माधव नेपाल समूहले समेत फ्लोर क्रस गर्ने अवस्थामा सजिलै नयाँ सरकार बनाउन सकिने विश्लेषण दुई दलले गरेका छन् ।

गत २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता भंग हुने गरी गरेको फैसलालगत्तै माओवादी अध्यक्ष प्रचण्डले ओली सरकारको विकल्प खोज्ने प्रयास थालेका थिए । त्यसयता माओवादी, कांग्रेस र जसपाबीच पटकपटक वार्तासमेत भएको छ । यद्यपि, यसबीचमा जसपाको पूर्वराजपा समूह भने प्रधानमन्त्री ओलीसँग संवादमा छ । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like