एमसिसी अड्काइएको भन्दै प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले अमेरिकन सहयोग परियोजना (एमसिसी) लाई निर्णयार्थ प्रस्तुत गर्नबाट संसद्मा अड्काइएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले संसद्मा प्रस्तुत गरेको कुनै पनि कार्यसूचीलाई संसद्मा अड्काउनु गैरसंवैधानिक हुने भन्दै प्रधानमन्त्री ओलीले अगाडि बढाउन माग गरे ।

‘एमसिसी कांग्रेस र माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यो निर्णयार्थ संसद्मा टेबल गरेका छौँ र टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन,’ नयाँ वर्षका अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन, त्यो गर्नैपर्ने हुन्छ । तर, संविधान नै नमान्ने तथा जिद्दी गर्ने प्रवृत्ति झेलिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय एकता चाहेको पनि बताए । ‘हामी चाहन्छौँ, फाटोको खेती होइन, वैमनस्यता र घृणा होइन, आजको आवश्यकता राष्ट्रिय एकता हो । दूरीलाई हटाएर एकता कायम गर्ने हो,’ उनले भने ।

सरकारले सकेसम्म लकडाउन चाहेको छैन
प्रधानमन्त्री ओलीले कोरोना संक्रमण काबुभन्दा बाहिर जान लागेको अवस्थामा मात्र सरकारले लकडाउन गर्ने स्पष्ट पारे । ‘कतिपयले आजै–भोलि नै लकडाउन हुन्छ भनेर हल्ला चलाइरहेका छन् । सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन । तर, हामीले हेक्का राख्नुपर्छ, विकसित भनिएका कतिपय देशमा जब ह्वात्तै कोरोना भइरस फैलियो, तब उनीहरू पनि लकडाउन गर्न बाध्य छन् । सतर्कताको विधिबाट परिस्थितिलाई त्यहाँ पुग्न नदिऊँ भन्ने हाम्रो चाहना छ ।’

उनले आफूले लकडाउन गर्ने धम्की दिएको गलत हल्ला फिँजाएको भन्दै त्यसको प्रतिवाद पनि गरे । ‘म धम्की कसलाई दिन्छु, म धम्की दिने हैसियत पनि राख्दिनँ र उचित पनि ठान्दिनँ । सजग हुनुपर्छ, परिस्थिति त्यहाँ जान सक्छ भनेर अपिल मात्रै गरेको हुँ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गर्न र आफूलाई सुरक्षित राख्न सबैमा आग्रह गरे । सरकारको सही नीतिकै कारण कोभिडविरुद्धको लडाइँ असफल नभएको र तुलनात्मक रूपमा सामाजिक र आर्थिक जीवनमा कमभन्दा कम क्षति भएको पनि दाबी गरे ।

उनले ०७७ मा सरकारले उल्लेख्य प्रगति हासिल गरेको पनि बताए । कोभिड– १९ महामारीसँगै मुलुकमा केही राजनीतिक अस्वस्थता देखापरे पनि गत वर्ष उपलब्धिको वर्ष रहेको उनले बताए । दशकौंपछिको सफलता प्राप्त गर्दै मेलम्चीको पानी काठमाडौं आइपुगेको, अतिक्रमित भूमि फिर्ता, पुनर्निर्माणका कामहरूले पूर्णता पाउने क्रम तीव्र गतिमा बढेको तथा नयाँ–नयाँ असाधारण र दूरगामी महत्वका कामहरू बढेको पनि उनले उल्लेख गरे । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like