तिलोत्तमामा ६ वटा विद्यालयलाई गाडी वितरण

बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिकाका ६ वटा सामुदायिक विद्यालयलाई बस प्रदान गरिएको छ ।
सामुदायिक विद्यालय सुधार र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको नगरपालिकाले विद्यालयसँगको सहकार्यमा सामुदायिक स्कूल प्रति आकर्षण बढाउन ल्याइएका बस हस्तान्तरण गरेको हो ।

तिलोत्तमा–१ को जनजागृति मावि, वडा नम्बर ५ को गृवार्ण संस्कृत मावि, वडा नम्बर ८ को जनभावना मावि, वडा नम्बर ११ को शिवपुर मावि र वडा नम्बर १२ को पशुपति मावि र जनता माविलाई बस प्रदान गरिएको हो ।

विद्यालयलाई बस हस्तान्तरण गर्दै नगरप्रमुख बाशुदेव घिमिरेले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढदै गएको बताए । उनले विद्यालय र नगरको सहकार्यमा प्रदान गरिएको गाडीहरूको सही सदुपयोग गर्न विद्यालयका प्राधानाध्यापकहरुलाई आग्रह समेत गरे । तिलोत्तमा २१ वटा सामुदायिक मावि विद्यालय छन् ।

जसमध्ये अहिलेसम्म ११ वटा विद्यालयको आफ्नो गाडीको पुगेको नगरपालिकाका उपसचिव गंगाराम आचार्यले जानकारी दिए ।
बाँकी १० वटा विद्यालयमा पनि छिट्टै गाडी प्रदान गर्ने गरी नगरपालिका लागेको बताए । रूपन्देहीमा पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको छ ।

नगरपालिकाले एक विद्यालयका लागि गाडी खरिदका लागि १० लाख रुपैयाँका दरको बजेट दिएको हो । ४२ सिट क्षमतामा गाडीको मुल्य २० लाख ९५ हजार रूपैयाँ रहेको छ ।

 
 
  
 

You may also like