ओलीविरुद्ध छिट्टै अविश्वासको प्रस्ताव अघि बढ्छ : बाबुराम भट्टराई

गोरखा । सरकार र जनता समाजवादी पार्टी (जसपा) बीचको वार्ता समझदारीतर्फ अघि बढिरहेको चर्चा चलिरहेका बेला सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव छिट्टै अघि बढ्ने बताएका छन् ।
आज (मंगलबार) गृह जिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष भट्टराईले तीन राजनीतिक दल र एमालेभित्रको एक पक्षको सहयोगमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने बताएका छन् ।

उनले कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र एमालेभित्रको एक पक्षको साथ र सहयोगमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव छिट्टै अघि बढ्ने बताए । ‘प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार को भन्ने प्रश्न छ, जो पनि हुन सक्छ । कुनै पनि पार्टीको स्पष्ट बहुमत छैन । त्यति ठूलो अन्तर पनि छैन,’ उनले भने, ‘कांग्रेस माओवादी र जनता समाजवादी तीनै थरीको दाबीमा अन्यथा भन्न हुँदैन । तीनै पक्षको दाबी रहन सक्छ तर यही कारणले केपी शर्मा ओलीको लोकतन्त्रविरोधी अभियानलाई बल पुग्ने काम चाहिँ हुन दिंदैनौं ।’

तीन पक्ष र र चौथो पक्षसँग समझदारी र सल्लाह गरेर प्रधानमन्त्रीको उम्मेदवार टुंग्याउने उनले बताए । संविधान अनुसार अविश्वासको प्रस्ताव लैजाँदा प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार दिनुपर्ने भएकाले प्राविधिक हिसाबले माओवादीले समर्थन फिर्ता नलिएको उनले बताए । ‘राजीनामा त नैतिकता भएको मान्छेले गर्ने हो ।उहाँबाट त्यो अपेक्षा गर्नु मुर्खता हो,’ उनले भने,‘अब उहाँलाई हटाउने अविश्वासको प्रस्तावमार्फत नै हो । त्यसको वातावरण बन्दै गएको छ । प्राविधिक ढंगले गृहकार्य गर्दा केही समय लागेको मात्र हो ।’ केही दिनअघि कांग्रेसले पनि प्रधानमन्त्रीको राजीनामा माग गर्ने भनेपछि अविश्वासको प्रस्ताव लैजान ढोका खुलेको उनले बताए ।

जसपाले वार्ता र संवाद गरेर सरकार जाने चर्चामा सत्यता नरहेको उनले बताए । ‘रेशम चौधरीको मुद्दा फिर्ता लिने प्रश्न निरन्तर उठाइरहेको विषय हो । हाम्रा साथीहरु यो विषयमा कुराकानी गर्न जानुभएको छ । कहिले प्रधानमन्त्रीले पनि बोलाएर कुरा गर्नुभएको छ,’ उनले भने,‘उहाँको मनसाय घुमाइफिराइ पार्टीभित्र खेल्ने र आफ्नो सरकार टिकाउने भन्ने हो । लुकेको छैन । तर हाम्रो सल्लाह नै रेशम चौधरीको मात्र कुरा उठाउने भन्ने छ ।’ आफ्नो पार्टी सरकारमा जाने अनुमान र अटकलबाजी सम्भव नरहेको उनले बताए । ‘प्रधानमन्त्रीको बहिर्गमन निर्सत माग हो । यसमा प्रतिबद्ध छौं,’ उनले भने, ‘लोकतन्त्र र संविधानमाथि जहाँबाट खतरा र त्यो खतराबाट बचाउनु अहिलेको पहिलो काम रहेको उनले बताए ।

 

 
 
  
 

You may also like