फ्रान्समा एक महिना लकडाउन, शैक्षिक संस्था पनि बन्द

काठमाडौं । फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण पुनः तीब्र भएपछि एक महिनाका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सी (शनिबार) देखि एक महिना लकडाउनको घोषणा गरेका हुन् ।

एक टेलिभिजनमा सम्बोधन गर्दै उनले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका बीबीसीले जनाएको छ ।

लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ । यस्तै, उनले कोरोनाको सङ्क्रमण बढे पनि यसलाई नियन्त्रण गर्न सकिने भएकाले डराउनु नपर्ने बताउनु भएको छ ।

उनले कोरोनाविरुद्धको खोपलाई तीव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप दिने पनि बताएका छन् । फ्रान्समा गएको २४ घण्टामा ४१ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म फ्रान्समा ४६ लाख ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ९५ हजारभन्दा धेरै ज्यान गएको छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो स्थानमा छ । एजेन्सी

 
 
  
 

You may also like