ओलीद्वारा नेपाल र रावलको पार्टी सदस्यता निलम्बन, भुसाल र पाण्डेलाई पुनः स्पष्टीकरण

काठमाडौं। नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई सदस्यता निलम्बन गरिएको जानकारी गराएका छन् ।

नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ ।‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ,’ दुवैलाई पठाए पत्रमा भनिएको छ ।

नेपाल र रावलले शुक्रबार स्पष्टीकरण बुझाएका थिए । पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय पनि गरिएको छ । उनीहरुले तीन दिनभित्र स्पष्टीकरण किन नदिएको भनी सोध्न लागिएको ती नेताले बताए ।
हेर्नुस् पत्र

 
 
  
 

You may also like