आफ्नो आधा कलेजो दिएर आमालाई जीवन

चितवन। ५४ वर्षीया धनमाया तामाङ छोरी ३४ वर्षीया उषालाई सुमसुम्याउँदै थिइन् । दुवै जना एकअर्कालाई हेरेर मुस्कुराउँदै थिए । घरीघरी भावुक पनि हुन्थे। छोरीको आधा कलेजो आमाको शरीरमा प्रत्यारोपण गरेको चार दिनपछि भेट भएको हो । यसरी भेट हुँदा यी आमाछोरीमा खुसीको कुनै सीमा थिएन ।

यी आमाछोरी चितवन मेडिकल कलेजको प्रत्यारोपण वार्डको सँगै जोडिएको अलग–अलग क्याबिनमा छन् । उषा आमाको अवस्थाबारे स्वास्थ्यकर्मीलाई सोधिरहन्छिन् । आफ्नो आधा कलेजो दिएर आमालाई बचाउन पाएकोमा उषाले गर्व महसुस गरेकी छन् ।

होस खुलेदेखि उनलाई आमा हेर्न हतारो थियो । ‘आमालाई केही नहोस् भनेर भगवानसँग प्रार्थना गरें’, उषाले भनिन्, ‘आमाको लागि कलेजो केही होइन् । मेरो कारणले आमा बाँच्नुभयो त्यसैमा खुसी छु ।’ धनमायाको पाँच महिनाअघि स्वास्थ्य परीक्षण गर्दा कलेजोले काम गर्न नसक्ने पुष्टि भएपछि परिवारमा खैलाबैला मच्चिएको थियो । कलेजो प्रत्यारोपणको विकल्प थिएन । कलेजो दान गर्ने वचन दिएका आफन्त अनेक बहाना गरेर पन्छिए ।

त्यसपछि उषा आफैं अघि सरेकी रहेछन् । ‘दिन्छु भने तर दिने बेला कोही निस्केन अनि आफैं हिम्मत गरेर कसैको सहयोग चाहिँदैन भनेर आँट गरे’, उषाले भनिन् ।

सुरुमा के होला भनेर उनलाई डर लाग्यो। तर आमाको अगाडि अरू कुरा सामान्य लाग्यो। बरु आर्थिक अभावका कारण बहिनी गुमाउनुपरेको पीडा बल्झियो । १७ वर्षअघि १६ वर्षीया बहिनीको ब्रेन ट्युमरका कारण निधन भएको थियो। पैसा नभएकै कारण बहिनी बचाउन नसकेकोमा दुखेसो उषालाई । आमाको अवस्थाले त्यही घटनाको सम्झना गरायो । त्यसपछि उनलाई लाग्यो, ‘आमालाई बचाउँछु ।’

‘सुरुमा कलेजो दिने भन्ने कुरा सुन्दैमा ज्वरो आयो । मरिन्छ भने पनि ठीकै छ तर आमा बाँच्ने कुराले हिम्मत बढ्यो’, उनले भनिन्, ‘त्यसबेला आमा मात्रै सम्झिएँ ।’

छोरीको निर्णय सुनेर धनमाया रुन्थिन् । त्यसबेला केही हुँदैन भन्दै उषा आमालाई सम्झाउँथिन् । घरीघरी आमासँगै उषा पनि रुन्थिन् । कलेजो प्रत्यारोपणसँगै दुवै जनाको हाँसो फर्किएको छ । छोरीले पुनर्जीवन दिएको भन्दै धनमायाले खुसी ब्यक्त गरिन् । ‘मलाई छोरीले बचाइन्, अब त बाँचिन्छ होला नि !’, धनमायाले भनिन्, ‘छोरीले नयाँ जीवन दिइन्। खुसी लागेको छ ।’

धनमायाका श्रीमान् रनबहादुर अस्पतालको क्याबिनबाहिर श्रीमती र छोरीलाई पर्खेर बसेका छन् । श्रीमतीको जीवनकै आस मारेका रनबहादुर बिरामीको स्वास्थ्यमा आएको सुधारले खुसी छन् । जीवनसंगिनी बाँचेको खुसीले उनी गद्गद् छन् । ‘कसरी बचाउने भनेर आसै मारेको हो । छोरीले नै आँट गरेर बचाइन्’, रनबहादुरले भने, ‘मृत्युबाट बचेकी छन् परिवार खुसी छौं ।’ उनका एक छोरा र छोरी छन् ।

यूएईको दुबईमा ८ वर्षदेखि ब्युटिसियन काम गर्ने उषा आमाको उपचारको लागि माघमा घर फर्किएकी हुन् । विदेशमै रहँदा उनले आमा आईसीयूमा रहेको खबर पाइन् । अब दुई महिनापछि फेरि दुबई जाने उनले बताइन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like