कोरोनाको त्रास : भारतबाट आएकामा संक्रमण पुष्टि, नेपालमा गम्भीर लापरवाही

काठमाडौं। छिमेकी मुलुक भारतमा दोस्रो चरणको संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारवालाहरूले औंल्याएका छन् ।आइतबार भारतबाट नेपाल आएका व्यक्तिमा कोरोनासंक्रमण पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार पश्चिम नाकाबाट नेपाल प्रवेश गरेका एक नेपालीमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

भारतमा कोरोना संक्रमण दर बढे पनि नेपालले खासै तयारी नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको भनाइ छ । जोखिम रोक्न सीमानाकामा अपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरवाही भइरहेको देखिएको उनले बताए ।

‘बसभित्र मास्कको प्रयोग भएको देखिँदैन, सडकमा पनि मानिस खुलेआम हिँडेको देखिन्छ,’ उनले चिन्ता प्रकट गरे, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा समेत लापरवाही छ । जोखिममा रहेका देशबाट आएका पर्यटकलाई समेत होटल क्वारेन्टिनमा नराखी सीधै समुदायमा जान दिएको पाइएको छ ।’
भारतमा दोस्रो चरणको कोरोना फैलिएको र कतिपय राज्यमा लकडाउन समेत भइसकेको छ । त्यहाँ कार्यरत नेपाली घर आउँदा संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । नागरिक दैनिकबाट

 

 
 
  
 

You may also like