काठमाडौं । देशकै जेठो वीर अस्पतालमा एक दर्जनभन्दा बढी अत्यावश्यक उपकरण बिग्रिएको धेरै समय भइसक्यो । २७ करोडभन्दा बढी मूल्यका अत्यावश्यक उपकरण बिग्रिएर थन्किँदा हजारौँ गरिब बिरामी घरखेत बेचेर निजी अस्पताल र क्लिनिकमा उपचार गराउन बाध्य छन् । ती उपकरण करिब ६५ लाखमा सजिलै मर्मत हुन सक्ने कर्मचारी नै बताउँछन् ।
वीर अस्पतालमा अटोक्लेभ मेसिन, एक्सरे मेसिन, मेमोग्राम, स्पेसल एक्सरे, सिटिस्क्यान, सि–आम मेसिन, इन्डोस्कोपी, इन्ट्रा–अप्रेटिभ सिटिस्क्यानजस्ता सेवा पाइँदैन । यी उपचार सेवाका लागि गरिबले निजी अस्पताल जानुपर्ने बाध्यता छ । वीर अस्पतालमा सबैको पहुँचमा हुने यी सेवा निजीमा सीमित व्यक्तिको पहुँचमा मात्रै छ ।
चिकित्सक र स्वास्थ्यकर्मीहरूले अझैसम्म कोभिड महामारीमा खटिएको जोखिम भत्ता समेत पाएका छैनन् । विपद्का बेला खटिएको जोखिम भत्ता पाउन उनीहरूले आन्दोलन गर्नुपर्ने अवस्था छ । अस्पताल प्रशासन पनि भएका अत्यावश्यक उपकरण मर्मत गरेर चलाउनेभन्दा नयाँ उपकरण खरिद गर्ने कार्यमा जुटेको छ ।
मुलुकको ठूलो सरकारी अस्पताल वीरमा देशैभरबाट अति गरिब तथा विपन्न नागरिक उपचारका लागि आउने गरेका छन् । अस्पतालको तथ्यांक हेर्दा पनि दैनिक उपचारका लागि आउनेमध्ये ८० प्रतिशत गरिब तथा विपन्न वर्गका छन् । वीरमा दैनिक दुई हजारदेखि २५ सयसम्म बिरामी सेवा लिन आउने गरेको तथ्यांकले देखाउँछ ।
अक्सिजन प्लान्ट मर्मतमा बेवास्ता, प्रतिसिलिन्डर १५ सयमा खरिद
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्ससँग आबद्ध रहेका राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल दुवैमा गरिबको पहुँचमा रहेका अधिकांश उपकरण बिग्रिएका हुन्छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी ठूला अस्पतालमा उपकरण बिग्रनु स्वाभाविक र सामान्य भएको बताउँछन् ।
‘कतिपय उपकरण चल्दाचल्दै बिग्रिन्छ, अहिले जति चलेका छैनन् ती बन्ने प्रक्रियामा छन्,’ सेन्चुरीले भने, ‘कतिपय मेसिन पुराना छन्, बनाउनुपर्दा त्यसको लागत बढी हुन जान्छ । यी उपकरण बनाउनुभन्दा किन्दा फाइदा हुन्छ ।’ उनले आठ वटा भेन्टिलेटर बिग्रिएको स्वीकार गरे । ‘विगतमा जुन सप्लायर्सबाट खरिद गरिएको छ, त्यो सप्लायर्सबाहेक अरूले बनाउन सक्दैनन्, त्यसैले थन्किएका हुन्,’ डा. सेन्चुरीले भने । आइतबारदेखि उनको सेवाअवधि सकिएको छ ।
कोभिडको समयमा संक्रमितको उपचारका लागि अति महत्वपूर्ण मानिने आठवटा भेन्टिलेटर बिग्रिएका छन् । भूकम्पको समयमा निर्माण गरेको अक्सिजन प्लान्ट बिग्रिएको महिनौ भइसकेको छ । दैनिक ८० देखि ९० वटा सिलिन्डर खपत हुन्छ । प्लान्ट बनाए दैनिक एक सय ३० सिलिन्डर भरिन्छ, तर मर्मत गर्न छाडेर प्रतिसिलिन्डर १५ सयमा खरिद भइरहेको अधिकारीहरू बताउँछन् ।
शल्यक्रिया गर्नुपूर्व वा गरिसकेपछि सामान पकाउन प्रयोग गरिने अटोक्लेभ मेसिन पनि बिग्रिएको छ । जुन उपकरण बनाउन दुई लाख खर्च लाग्छ, तर नयाँ खरिद गर्दा १८ लाख रुपैयाँ पर्छ । भएका बेड थुपारिएको छ, तर ६० वटाभन्दा बढी बेड १० हजार रुपैयाँका दरले खरिद गरिएको कर्मचारी बताउँछन् । छातीको बाहेक सबै एक्सरे गर्ने अटोक्लेभ मेसिन बिग्रिएको एक महिनाभन्दा बढी भइसकेको छ ।
स्तन क्यान्सर जाँच गर्ने मेमोग्राम मेसिन कामै नलाग्ने भएको छ । अस्पतालका उच्च अधिकारीका अनुसार यो उपकरण बनाउन १० लाख खर्च हुन्छ । मर्मत गर्न छाडेर अस्पतालले एक करोड ५० लाखमा किन्ने तयारी गरेको छ । सामान्य एक्सरेले देख्न नसक्ने (फिस्टुला हेर्न प्रयोग गरिने) स्पेसल एक्सरे पनि बिग्रिएको छ । नयाँ किन्दा स्पेसल एक्सरेको मूल्य एक करोडभन्दा बढी पर्न जान्छ । यो मेसिन करिब १० लाख खर्च गरेमा बन्न सक्ने कर्मचारी बताउँछन् ।
दुई वर्षदेखि सिटिस्क्यान मेसिन थन्किएर बसेको छ । अस्पतालका विज्ञ चिकित्सकका अनुसार २० लाख खर्च गर्दा यो मेसिन चलाउन सकिन्छ । खरिद गरेर प्रयोगमा समेत राम्रोसँग नल्याएको यो अत्याधुनिक सिटिस्क्यान मेसिनमा अन्य सामान थुपारेर गोदाम बनाइएको छ । यसको मूल्य दुई करोडभन्दा बढी छ । ब्लड बैंकका फ्रिजसमेत बिग्रिएका छन् । सातदेखि आठ हजार रुपैयाँमा बन्ने यी फ्रिज नयाँ किन्दा एक लाख रुपैयाँ पर्छ ।
दुईवटा सि–आम मेसिन बिग्रिएर थन्क्याइएको छ । यो मेसिनको सहायताले शरीरको भित्री भाग हेरेर अप्रेसन गर्न प्रयोग गरिन्छ । २० लाखमा बनाउन सकिन्छ, तर अस्पताल प्रशासनले चासो देखाएको छैन । यो मेसिनको मूल्य दुई करोड पर्छ । इन्डोस्कोपी मेसिन बिग्रिएको तीन हप्ताभन्दा बढी भइसकेको छ ।
इन्ट्रा अप्रेटिभ सिटिस्क्यान मेसिन राष्ट्रिय ट्रमा सेन्टरमा थन्किएर बसेको छ । बिरामी अन्त पठाइन्छ, तर मर्मत गरेर चलाउने सोच नेतृत्वमा देखिएन । यो उपकरण २० करोड मूल्यको हो । ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेल केही उपकरण बिग्रिएको स्वीकार गर्छन् । निकै महत्वपूर्ण मानिएको इन्ट्रा अप्रेटिभ सिटिस्क्यान मेसिन दुई दिनअगाडि मर्मत गरे पनि पुनः बिग्रिएको पौडेलले बताए ।
बिग्रिएका उपकरण बनाउनुभन्दा नयाँ किन्दा फाइदा
डा. केदार सेन्चुरी, पूर्वनिर्देशक, वीर अस्पताल
कतिपय उपकरण चल्दाचल्दै बिग्रिन्छ, अहिले जति चलेका छैनन् ती बन्ने प्रक्रियामा छन् । कतिपय मेसिन पुराना छन्, बनाउनुपर्दा त्यसको लागत बढी हुन जान्छ । यी उपकरण बनाउनुभन्दा किन्दा फाइदा हुन्छ । विगतमा जुन सप्लायर्सबाट खरिद गरिएको छ, ती सप्लायर्स बाहेक अरूले बनाउन सक्दैनन्, त्यसैले थन्किएका हुन् ।
महँगोमा किन्ने, स्टोरमा थुपार्ने
वीर अस्पतालमा अत्यावश्यक उपकरण नभएका हैनन् । तर, प्रयोगमा नल्याइदिँदा त्यही सेवाका लागि बिरामी निजी अस्पतालमा जानुपरेको छ । वीर अस्पतालको काम भनेको महँगा उपकरण सेवाका नाममा खरिद गर्ने र स्टोरमा थुपार्ने काम मात्रै भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा सचिवको संरक्षणमा खरिद गरेका उपकरण बिग्रिएको भन्दै थुपारिँदै आएको छ । गरिबको उपचार गर्ने अस्पतालका रूपमा परिचित ठानिएको वीर अस्पतालमा बिरामी पुग्दा कुनै पनि सेवा सजिलै लिन सक्ने अवस्था छैन ।
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा व्यापक अनियमितता भएको भन्दै वीर अस्पताल कर्मचारी युनियनले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएको छ । तर, अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि बढाइएको छैन । कर्मचारीहरूले भएका उपकरण मर्मत नगरेर नयाँ किन्ने विषयमा व्यापारीसँग साँठगाँठ गरी स्पेसिफिकेसन तयार पार्न थालिएको आरोप लगाएका छन् ।
सिटिस्क्यान मेसिन मर्मत, क्यान्टिनको सम्झौता, एम्बुलेन्स खरिद, सि–आर्म, ओटी लाइट, माइक्रोस्कोपलगायत महँगोमा खरिद गरेको भन्दै कर्मचारीहरूले ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडैलविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका छन् । पौडेलले ट्रमा सेन्टरमा भर्ना भएका बिरामीको अप्रेसन गर्दा प्रयोग हुने औषधि अस्पतालको फार्मेसीमा नराखी सीधै व्यापारीसँग मगाउने गरेको उजुरीमा भनिएको छ । नयाँ पत्रिका दैनिकबाट