पाल्पा, ११ साउन । तानसेन नगरपालिका–१ को भूषालडाँडालाई मदिरा निषेध गर्ने अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत शनिबार सरसफाई तथा दुव्र्यसनी सचेतना सम्बन्धी घरदैलो कार्यक्रम भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीको नेतृत्वमा भएको कार्यक्रममा जनप्रतिनिधि, पाल्पा बैंकर्स एशोसिएसनका पदाधिकारी, टोलविकास संस्था, मिसन अस्पतालका प्रमुख, स्थानीय व्यावसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

भूषालडाँडाको माथिल्लो प्रतिक्षालयबाट सुरु गरिएको अभियान युनाइटेड मिसन अस्पतालको मूलगेट हुँदै खल्लुकधारामा आएर सकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए।

यसअघि प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सर्वपक्षीय, सर्वदलिय बैेठकले युनाइटेड मिसन अस्पतालको ५ सय मिटर वरिपरी कुनैपनि मदिराजन्य पदार्थको विक्रिवितरण तथा सेवन गर्न नपाइने निर्णय गरेको थियोे। भदौ ५ गतेबाट यो निर्णय लागु हुनेछ।

त्यसलगत्तै वडा नम्बर १ को गैरागाउँ, चण्डीथान, गोर्खेकोटको देउराली, ध्रुवघाट, लायन्शको भवन वरिपरी, कवर्डहल क्षेत्र वरिपरी रहेका गेष्ट हाउसमा समेत मदिरा विक्रि वितरण तथा वेचविखन गर्न पाइने छैन।

 
 
  
 

You may also like