पम्फा भुसालको चेतावनी : प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याएर निकालिन्छ

by समतल अनलाइन

काठमाडौ। नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् ।

प्रतिनिधिसभा नर्स्थापना भएको खुशीयालीमा आज (बुधबार) काठमाडौंमा निकालिएको ‘विजय जुलुस’ लाई सम्वोधन गर्दै भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग थोरै भए पनि नैतिकता भए ढिला नगरी राजीनामा दिनुपर्ने बताइन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि हिजै राजीनामा आउँला भनेर आफूले सोचेको बताउँदै भुसालले भनिन्, ‘प्रधानमन्त्रीले राजीनामा दिएर ठाउँ खाली गर्नुपर्छ ।’

उनले राष्ट्रपतिलाई समेत राजीनामा दिन आग्रह गरिन् । ‘पशुपतिमा गएको सुनें । त्यहाँ क्षमा याचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस्’, उनले भनिन् । जनसंघर्ष समितिका सहसंयोजक भुसालले राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको बताइन् ।

‘प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो’, उनले भनिन् । राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । विजय जुलुसमा सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गरिएको थियो ।

 

 
 
  
 

You may also like