जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

by समतल अनलाइन

काठमाडौँ। एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो ।

बोर्डका उपाध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा निर्णय गरिने जानकारी दिनुभयो । हाल दुवै तहको परीक्षाका लागि बोर्डले विभिन्न चरणको काम गरिरहेको छ ।

बोर्डको यो तयारी कार्यान्वयन हुन सके विद्यार्थीको शैक्षिक सत्रमा दुई÷तीन महिनाको हाराहारीमा मात्र क्षति हुनेछ । विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरिएको थियो ।

एसईईका लागि देशभरका विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने म्याद फागुन ६ गते सकिएको छ । हाल जिल्ला–जिल्लामा विद्यार्थीको अभिलेखीकरण गर्ने कार्य भइरहेको जानकारी बोर्डले दिएको छ । सबै विद्यार्थीको विवरण यकिन गर्न चैतसम्म लाग्ने आकलन गरिएको छ । त्यसपछि मात्र आगामी वर्ष एसईई दिने विद्यार्थीको सङ्ख्या यकिन हुनेछ ।

यस पटक कोरोना भाइरस सङ्क्रमणका कारण विद्यार्थीको सङ्ख्या घट्न सक्ने प्रारम्भिक आकलन गरिए पनि त्यसको निधो हुन सकेको छैन । सरकारले एउटा विद्यालय छोडेर अर्को विद्यालय गएको विद्यार्थीलाई लक्षित गरी यस पटक कक्षा १० मा समेत स्थानान्तरणको सुविधा दिने निर्णय यसअघि नै गरिसकेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

 
 
  
 

You may also like