अधिकांश स्थानमा मौसम बदली, बर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं। पश्चिमी वायुको प्रभावका देशका अधिकांश भू–भागमा आज (बुधबार) मौसममा बदली भएको मौसमविदले बताएका छन् ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ ।
प्रदेश–२ र काठमाडौं उपत्यकामा आज बादल लागे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद निराजन सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौं उपत्यकामा लागेको बादल साँझपखबाट हट्ने छ । उनले भने, ‘काठमाडौं उपत्यकामा बिहान १०–११ बजेपछि बादल लाग्ने छ र साँझ ५–६ बजेबाट पूरै हटेर जानेछ ।’
आज उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । तराईका केही भागमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश–१ मा आँशिक बदली रहि प्रदेश–२ मा मौसम सामान्यतया सफा रहने छ ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश–१ मा आंशिक बदली रहि प्रदेश–२ मा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भुभागमा बिहानपख हुस्सु र कुहिरो लाग्ने हुँदा चिसो अझै रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

 
 
  
 

You may also like