जापानमा संकटकाल एक महिना थप्ने तयारी

by समतल अनलाइन

काठमाडौं। जापानमा लागू गरिएको संकटकाल फेरि एक महिना लम्ब्याउने तयारी भएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो । महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरि लम्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन् ।

राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गरेका थिए ।

संकटकालको अवधि लम्ब्याउने अन्तिम घोषणा गर्नु अघि प्रधानमन्त्री सुगाले सरोकारवाला तथा विज्ञहरूसँग छलफल गर्ने भएका छन् । उनले मंगलबार उनीहरूसँग छलफल गरेर मात्रै संकटकालको अवधि लम्व्याउने निर्णय गर्ने अधिकारीहरूले जनाएका छन् ।

अहिले लागू गरिएको संकटलकाल आगामी फेब्रुअरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने निर्णय गर्नु पर्ने भएको हो । जापानमा सोमबार मात्रै थप एक हजार ७९२ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितहरूको कुल संख्या तीन लाख ९२ हजार ४७५ पुगेको छ ।त्यसैगरी जापानमा कोरोनाका कारण अहिलेसम्म पाँच हजार ८४६ जनाको मृत्यु भएको सोमबार बेलुकासम्मको तथ्याङ्क छ । एजेन्सी

 
 
  
 

You may also like