वेपत्ता छानविन आयोगले पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ’: प्रवक्ता डा.गंगाधर अधिकारी

by समतल अनलाइन

बुटवल। वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग सदस्य एवम् प्रवक्ता डा। गंगाधर अधिकारीले संक्रमणकालीन न्याय निरुपणका लागि आफूहरुको सक्दो काम गरिरहेको भन्दै पिडीतको पक्षमा काम गर्ने कुनै कसर बाँकी नराखेको बताएका छन् ।

न्याय निरुपणका लागि उनले पिडित, सरोकारवाला, सरकार, राजनितिक दल र सबै पक्षको साझेदारी आवश्यक रहेको उनको भनाइ छ ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै उनले भने(आयोग पिडितका लागि हो,पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ ।’

आयोगको छानबिन तथा अनुसन्धानको लागि पाँचजना आयुक्त र सिमित कर्मचारीबाट मात्र सम्भव नहुने बताउदै अधिकारीले पीडितमैत्री न्याय प्रदान गर्न सबैको सहयोगको अपेक्षा गरे ।

समयमै ऎन संसोधन नहुनु र कोभिड १९ का कारण अपेक्षाकृत परिणाममुखी काम गर्न नसकिएको स्वीकार्दै अब बांकी अवधिमा आयोगले तीव्रताका साथ काम गर्ने बताए ।

आयोगमा नेपाल भरीबाट दर्ता भएको उजुरीका आधारमा दुई हजार पाँच सय २२ जनाव्यक्ती बेपत्ता पारीएको तथ्याङ्क रहेको उनले बताए । जसमध्ये सबै भन्दा बढि बर्दिया जिल्लाबाट २ सय ८८ ओटा उजुरी आयोगमा दर्ता भएकोमा दुई सय ५५ उजुरीहरु विस्तृत छानविनका क्रममा रहेको प्रवक्ता अधिकारीले बताए ।

लुम्बिनी प्रदेशमा बेपत्ताको संख्या ७ सय ३० रहेको र जसमा ६६६ पूरुष र ६४ महिला रहेको बताए । उजुरीको संख्या ७२१ रहेको उनले बताए ।

आयोगको म्याद १० दिन बाँकी रहँदै गर्दा पीडितहरुलाई परिचयपत्र वितरण कार्यको आरम्भ गरेको छ । बेपत्ता आयोगले सत्य तथ्य छानविन गरी तयार पारेको परिचयपत्र वितरण कार्यको शुभारम्भ बर्दिया जिल्लाबाट गरेको हो । साक्षात्कार रिपोर्टर्स क्लुब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीकाे अध्यक्षतामा भएकाे थियाे ।

 

 
 
  
 

You may also like