पेशागत वीमा अभिकर्ता संघद्वारा रक्तदान

by समतल अनलाइन

बुटवल। पेशागत वीमा अभिकर्ता संघ बुटवल र नेपाल लाइफ इस्योरेन्स कम्पनी बुटवल शाखाको संयुक्त आयोजनामा बुटवलमा रक्तदान भएको छ ।

संघले पहिलोपटक आयोजना गरेको कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध वीमा अभिकर्ता लगायत ३५ जनाले रक्तदान गरेका छन् । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको र भविष्यमा यसलाई निरन्तरता दिइने संघका अध्यक्ष ज्ञानप्रसाद पौड्यालले बताए ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलकी प्राविधिक राधा ज्ञवाली शर्माले १७ वर्ष उमेर पुगेका महिला पुरुष सबैले रक्तदान गर्न सक्ने बताउंदै रक्तदान भन्दा ठूलो धर्म अरु नभएको बताइन् ।

उनले जन्म दिनलाई रक्तदान गरेर मनाउने संस्कार बसाल्न सके विरामीलाई रगतको अभाव नहुने बताइन् । संघका अध्यक्ष ज्ञानप्रसाद पौड्यालको अध्यक्षता,सचिव नारायणभक्त पाण्डेको सञ्चालन र सहसचिव माधवराज पाण्डेको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक कष्णप्रसाद लम्साल,बुटवल शाखा प्रबन्धक पुरुषोत्तम सापकोटा, संघको विमक समिति सचिव ऋषिराम भुसाल,कमला जोशी लगायतले मन्तव्य राखेका थिए ।

 
 
  
 

You may also like