काठमाडौं। विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ । कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो ।
पुस १४ गते देशभर एकसाथ विरोधसभा गरेको सो समूहले संघर्षका थप कार्यक्रमका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको थियो । तर ती दलले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि एकल रूपमा संघर्षका कार्यक्रम घोषणाको तयारीमा प्रचण्ड–नेपाल समूह लागेको हो ।
अहिले जिल्लाजिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहको प्रदर्शन भइरहेको छ । साथै सबै जनवर्गीय संगठन र मोर्चा संगठनका केन्द्रीय बैठक र भेला पनि भइरहेका छन् । २० गते सबै नगरपालिका र गाउँपालिकासम्म पार्टी बैठक र भेला तथा पुस २५ गते सबै वडामा बैठक र भेला गर्ने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।
सो समूहका पार्टी अध्यक्षद्वय पुष्पकमल प्रचण्ड र माधवकुमार नेपालले पुस १५ गते नै सरकारविरुद्ध आन्दोलनका लागि थप कार्यक्रम घोषणा गर्ने बताएका थिए । तर बुधबार सो समूहको स्थायी कमिटीको बैठक नै बस्न सकेन । प्रचण्डपत्नी सीता प्रचण्ड बिरामी परेका कारण स्थायी कमिटीको बैठक बस्न नसकेको बताइएको छ । तर सो पार्टीका एक नेताका अनुसार कांग्रेसले सुरुमा संयुक्त आन्दोलनका लागि ‘ग्रिन सिग्नल’ दिएको थियो । नागरिक दैनिकबाट