अदालतले संसद पुनर्स्थापना गर्नेमा पूर्ण भरोसा छ : घनश्याम भुसाल

by समतल अनलाइन

काठमाडौं । नेकपा नेता घनश्याम भुसालले सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेकपा रूपन्देही दाहाल–नेपाल पक्षले गरेको जिल्ला भेलामा सहभागी हुन आइतबार गृह जिल्ला रुपन्देही आएका भुसालले प्रतिनिधिसभा पुनर्स्थापना नभए मुलुक अधोगतितिर जाने बताए ।
‘अफ्रिकाका केही मुलुकमा बाहेक अरू मुलुकमा जनमत र संविधानको पालना नहुने विषय मैले सुनेको छैन,’ उनले भने, ‘संविधान र जनमतको सम्मान गर्न, स्थिरता कायम राख्न पनि अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्नैपर्छ ।’

संसद् विघटन गर्ने निर्णयले नेपाली जनताले ५० वर्षदेखि चाहेको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको उनले बताए । पूर्वमन्त्री समेत रहेका नेता भुसालले राजाले खोसेको संविधान त फिर्ता ल्याएको बताउँदै रैतीले खोसेको फिर्ता ल्याएरै छाड्ने समेत बताए । उनले संविधानमा राजाले खोस्न सक्ने प्रावधान राखेको संविधान पनि फर्काएर ल्याएको बताउँदै अहिलेको त त्यो प्रावधान नै नराखिएको बताएका छन् ।

कथम् संसद पुनस्र्थापित नभए संविधान च्यात्ने क्रम शुरु हुने र देशमा अस्थिरता निम्तने बताए । उनले २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हत्याउँदा पनि केही मानिसहरूले अब ३० वर्ष चलाउँछ भनेर लख काटेको बताए । तर, त्यस्तो नभएको र भोका, उत्पीडितहरू एक ठाउँमा उभिएर डेढ वर्षमै जनतामा फर्काइएको पनि बताए ।

 
 
  
 

You may also like