चुनाव घोषणा गरेका प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नै मिल्दैन : डा. बाबुराम भट्टराई ‘ओलीले राज्यका सबै अंग र निकायहरु कब्जा गरेर प्रतिगमन गर्दैछन्’

by समतल अनलाइन

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले चुनाव घोषणा गरेका प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नै नमिल्ने बताएका छन् ।

संसद विघटनको विरोधमा जसपाले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एकातिर संसद विघटन गरी चुनाव घोषणा गर्ने र अर्कोतर्फ उनै प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आफू प्रधानमन्त्री रहँदा तत्कालीन संसद समेत रहेको संविधान सभा विघटन भई चुनावको मिति घोषणा भएपछि आफूले मन्त्री नियुक्त नगरेको बताए ।

उनले भने, ‘मेरो पालामा १२ वटा मन्त्रालय खाली थिए तर मैले मन्त्री नियुक्त गरिनँ, बहालवाला मन्त्रीहरुलाई नै जिम्मेवारी दिएँ मैले आफै ५–६ वटा मन्त्रालय हेरेको थिएँ,’ भट्टराईले थपे, ‘आवश्यक हुँदा पनि मैले नैतिकताका आधारमा मन्त्री थपघट गरिनँ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेर प्रतिगमन गर्न खोजेको बताए । ‘प्रतिगमन एकैचोटी आउँदैन, अंश अंशमा आउँछ, ओलीले संसदमा प्रहार गर्ने र राज्यका सबै अंग र निकायहरुमा कब्जा गरेर प्रतिगमन गर्दैछन्,’ उनले भने ।

 
 
  
 

You may also like